चौरासी पुजाले गाउँमा कोरोना फैलियो

पाँचथर । पाँचथरको उत्तरपूर्वी याङवरक गाउँपालिका–१ च्याङथापुमा चौरासी पुजामा सहभागी भएका ८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

एक वृद्धको चौरासीको पूजामा झापामा रहेका आफन्तलाई निम्ता गरिएकोमा निम्ता मान्न आएका आफन्तसँगको सम्पर्कले गाउँमा संक्रमण फैलिएको हो ।

वैशाख ११ गते एक वृद्धको चौरासीको पूजाका लागि झापाबाट वृद्धका दुई आफन्त साविक च्याङथापुको नाम्रेक आएका थिए । याङवरक गाउँपालिका–१ का वडाध्यक्ष मोहनकुमार ढुङ्गेलका अनुसार चौरासीको पूजा सकेपछि झापा फर्किसकेका आफन्त सबैमा कोभिड–१९ सँग मिल्ने लक्षण देखिएपछि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

पाहुना आएकाहरुमा संक्रमण देखिएपछि पुजामा सहभागी भएकाहरुको परीक्षण गर्दा सोमबार ८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितलाई ज्वरो आइरहेको छ भने होम आइसोलेशनमा बस्न भनिएको वडाध्यक्ष ढुङ्गेलले बताए ।

चौरासीको पूजा लगाएका ८४ वर्षीय वृद्धलाई स्वास्थ्य समस्या देखिएको छ । उनलाई अस्पताल लैजाने तयारी भएको गाउँपालिकाले जनाएको छ ।

पाँचथरको सदरमुकाम फिदिममा सोमबार १५ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा कोभिड–१९ संक्रमण भेटिएको छ । आइतबार फिदिममै एक कर्मचारी र एक सैनिकमा संक्रमण भेटिएको थियो । जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ११ पुगेको छ ।

मङ्गलबार, २१ बैशाख, २०७८, दिउँसोको १२:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर