प्रहरीको कुटाईबाट टिपर चालक घाइते

विराटनगर । प्रहरीको कुटाईबाट विराटनगरका तीनजना टिपर चालक घाइते भएका छन् ।

निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले तीनजना टिपर चालकमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट टिपर चालक विराटनगरका टीका बराल, शिव भट्टराई र शंकर सरदार घाईते भएका छन् । घाईते बरालको हातमा गहिरो चोट लागेको छ । चालक भट्टराई र सरदारको भने हात र खुट्टामा चोट छ ।

सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले स्वास्थ्य मापदण्डसहित निर्माण सामाग्री बोकेको टिपर सञ्चालन गर्दा प्रहरीले निर्घात कुटपिट गरेको आरोप लगाए । निषेधाज्ञामा प्रहरीको अराजकता बढेको उनीहरुको भनाई छ ।

कोरोेना संक्रमणको रोकथाम र नियन्त्रणका लागि मोरङ प्रशासनले विराटनगर महानगरपालिका सहित जहदा, बुढीगङ्गा तथा कटहरी गाउँपालिकाको वडा नं. १, २, ३ र ४ मा एकसाता लामो निषेधाज्ञा जारी गरेको छ । प्रशासनले बिहान ५ बजेदेखि १० बजेसम्म निमार्ण सामाग्री ओसारपोसार गर्ने अनुमति दिएको छ ।

आईतबार पुर्वाञ्चल टिपर व्यावसायी संघमा आबद्ध ६० वटा टिपर गिट्टी बोक्न केराबारीस्थित क्रसर उद्योग पुगेका थिए । गिट्टी बोकर फर्किदै गर्दा करिब ११ बजे मिलन चौकमा खटिएका नेपाल प्रहरीको टोलीले निषेधाज्ञा उल्लंघन गरेको भन्दै टिपर नियन्त्रणमा लिएर कुटपिट गरेको उनीहरुको भनाई छ ।

गिट्टी लोड गर्दा समयले नभ्याएको भन्दै चालकहरुले टिपर छोडिदिन आग्रह गर्दा पनि प्रहरीले बेलुका ५ बजे मात्रै छोडने बताएका थिए । तर राती साढे ९ बजिसक्दा पनि प्रहरीले आर.एम.सी र बिहेको जन्ती बोकेको गाडी जान दिएर गिट्टी बोकेको टिपर नियन्त्रणमै राखेका थिए ।

राती भएपछि घर जान दिनुहोस न भनेर आग्रह गर्दा प्रहरीले एक्कासी बल प्रयोग गर्दै कुटपिट गरेको टिपर चालक टीका शिव भट्टराईले बताए । कुटपिटबाट घाइते भएका भट्टराई पुर्वाञ्चल टिपर व्यावसायी संघका कोषाध्यक्ष समेत हुन् ।

प्रहरीले टिपरसँगै खाद्यान्न बोकेको २ वटा गाडी समेत रोकेर राखेको थियो, उनले भने, ‘तर सँगै रहेको सिटी सफारी र ४० जनाभन्दा बढी जन्ती बोकेको गाडीलाइै निर्वाध आवागमन गर्न दिएको थियो ।’

पत्रकार सम्मेलनमा मोरङका टिपर व्यवसायीहरुले कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्नुका साथै निर्माण सामाग्री बोक्ने टिपरलाई जोरबिजोर प्रणाली लागु गरी सञ्चालनको अनुमति दिनुपर्ने माग राखेका छन् ।

यता मोरङ प्रहरीका प्रमुख एस.पी सन्तोष खड्काले निषेधाज्ञा पालना गराउँदा प्रहरीले सामान्य बल मात्र प्रयोग गरेको बताए । उनले टिपर चालकहरूले निषेधाज्ञा अवज्ञा गर्न खोजेपछि प्रहरीले सम्झाईबुझाइ गरेको र नटेरेपछि सामान्य बल प्रयोग गरिएको स्पष्ट पारे । कुटपिट भने नभएको एस.पी खड्काको भनाई छ ।

सोमबार, २० बैशाख, २०७८, रातीको ०८:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर