विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन कन्ट्रयाक्ट टे«सिङका आधारमा पिसिआर परीक्षण गर्ने कार्य फेरी सुरु गरेको छ ।
बिरामीहरुको सुरक्षा र सेवालाई ध्यानमा राखेर महानगरले महामारीको दोश्रो लहरसँगै फेरी स्बाव संकलन थालेको हो ।
कोरोना भाइरसको संक्रमणदर बढेसँगै विराटनगर महानगरपालिकाले कोभिड १९ को पिसिआर परीक्षण सुरु गरेको हो । विराटनगरमा दैनिक दुई सय जनाभन्दा बढी मानिसहरु कोरोनाबाट संक्रमित हुन थालेपछि महानगरले प्रत्येक वार्डलाई लक्षित गरेर स्वाब संकलन गर्ने र परीक्षण गर्ने कार्य आरम्भ गरेको हो ।
आइतबार सूचना प्रकाशित गरेर महानगरले सबै १८ वटै वार्डहरुका नागरिकलाई सेवा दिने गरी विभिन्न ३ वटा केन्द्रबाट स्वाब संकलन गर्ने जनाएको थियो । त्यसै अनुरुप सोमबारबाट काम सुरु भएको महानगरले जनाएको छ ।
पहिलो चरणमा कोभिडको लक्षण देखा परेका बिरामीहरुले स्वाब संकलन केन्द्रमा उपस्थित भएर परीक्षण गराउन सक्ने गरी महानगरले व्यवस्था मिलाएको छ । त्यसपछि महानगरले संक्रमित व्यक्तिको सम्पर्कमा पुगेका व्यक्तिहरुलाई पनि परीक्षण गर्ने बताइएको छ ।
महानगरपालिकाले स्वाब संकलनका लागि सबै क्षेत्रलाई पायक पर्ने गरी तीन वटा केन्द्रहरु निर्धारण गरेको छ । विराटगनरको वडा नम्बर १, २, ३, ४ र १९ बासीले तीनपैनी स्थित पानीटंकी (पुरानो दमकल रहेको भवन)मा गएर स्वाब संकलन गराउनु पर्नेछ ।
त्यस्तै वडा नम्बर ५, ६, ७, ८, ९ र १० बासीले जिल्ला प्रशासन कार्यालय नजिक आदर्श स्कुलको विज्ञान भवनमा गएर स्वाब संकलन गराउने व्यवस्था मिलाइएको छ । महानगरले वडा नम्बर ११,१२, १३, १४, १५, १६, १७ र १८ का लागि वडा नं. १५ को प्राथमिक स्वास्थ्य केन्द्र रानीमा पुगेर स्वाब संकलन गराउने गरी केन्द्र तोकेको छ ।