रेमडिसिभिरको अभाव

औषधि व्यवस्था विभागमार्फत कोरोना विशेष अस्पताललाई उपलब्ध हुँदै आएको औषधि रोकियो

विराटनगर । विराटनगरमा सञ्चालित विभिन्न कोभिड–१९ विशेष अस्पतालहरुमा उपचार गराइरहेका कोरोना संक्रमितले रेमडिसिभिर नामक औषधि पाउन छाडेका छन् । औषधि व्यवस्था विभागमार्फत केही समय अघिसम्म कोरोना विशेष अस्पतालहरुलाई उपलब्ध हुँदै आएको औषधि रोकिएपछि बिरामीहरुले हैरानी व्यहोर्नु परिरहेको छ ।

विराटनगर स्थित नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार सरकारले औषधि उपलबध नगराएपछि बिरामीका आफन्तले ब्लेकमा औषधि किन्नुपर्ने अवस्था छ । ब्लेकमा किन्दा बिरामीले प्रतिभाइल २० हजार रुपैयासम्म तिर्नु परेको गुनासो गरेका छन् ।

विराटनगर स्थित विराट अस्पतालमा सञ्चालित कोभिड उपचार केन्द्रमा करिब २५ जना बिरामीलाई नियमित रेमडिसिभिर चलाइएको छ । तर, औषधि नपाउँदा समस्या भइरहेको उनीहरुले बताएका छन् । अस्पतालका एकजना चिकित्सकले भने ‘हामीले सप्लायर्ससँग औषधि मगाएका छौं । तर, भारतमा पनि औषधिको उच्च माग भएका कारण उनीहरुले आपूर्ति गरिरहेका छैनन् ।’
नेपाल सरकारले उपलब्ध गराउँदा बिरामीले प्रतिभाइल ५ हजार ३०० रुपैयाँमा उक्त औषधि खरिद गर्थे । अहिले सरकारले औषधि दिन छोडेको छ । चिकित्सकले कतिपय बिरामीलाई रेमडिसिभिर सिफारिस गर्छन् त्यस्तो बेलामा बाध्य भएर बिरामीले ब्लेक मार्केटबाट औषधिको आपूर्ति गर्नुपर्छ ।

रेमडिसिभिरको प्रिन्टेड मूल्य ५ हजार ७०० भारतीय रुपैयाँ हो । जसको नेपाली मूल्य ९ हजार रुपैयाँ भन्दा बढी हुन्छ । ब्लेक मार्केटबाट खरिद गर्दा न्यूनतम १२ हजार ५ सयदेखि २० हजार रुपैयाँसम्म तिर्नु परेको गुनासो बिरामीहरुले अस्पताललाई सुनाउने गरेका छन् ।

नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले भने ‘रेमडिसिभिर व्यवस्था गरिदिनका लागि बिरामीका आफन्तहरुले हामीलाई धेरै भन्नुहुन्छ तर, हामीले उपलब्ध गराउनसक्ने अवस्था छैन ।’ उनी भन्छन् ‘औषधि व्यवस्था विभागले अहिले औषधि पठाएको छैन र बजारमा किन्न नपाइने भएकोले बिरामीहरुले नै औषधि जुटाउने गरेका छन् ।’

रेमडिसिभिर चलाउँदा एकजना बिरामीलाई ६ भाइल दिनुपर्छ । ब्लेक मार्केटमा २० हजारका दरले किन्नुपर्दा उक्त औषधिका लागि मात्र एक लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने अवस्था छ । जसले गर्दा संक्रमित बिरामीलाई उपचार निकै महंगो पर्ने गरिरहेको छ । नोबेल अस्पतालमा उपचाररत स्वासप्रश्वासमा समस्या भएका अधिकांश बिरामीहरुले रेमडिसिभिर चलाउन माग गर्ने गरेका छन् ।

कोसी कोभिड अस्पतालमा भने न्यून मात्र रेमडिसिभिर चलाउने गरिएको छ । चिकित्सकले कसैलाई सिफारिस गरेको अवस्थामा औषधि जुटाउने जिम्मा बिरामीकै हुने अस्पतालका एक स्वास्थ्यकर्मीले बताए ।

कोरोना उपचारमा रेमडिसिभिरको प्रयोग ठिक ढंगले नभइरहेको कोशी अस्पतालका डा.रोशन खड्काले बताएका छन् । बिरामीले छिटो ठिक हुने नाममा रेमडिसिभिर चलाउन माग गर्ने र चिकित्सकले पनि प्रेसक्याप गरिदिइहाल्ने अवस्था रहेको भन्दै उनले भने ‘रेमडिसिभिर प्रोडोमल फेजमा चलाउनुपर्ने औषधि हो, त्यो चरण पार भएपछि त्यसले गर्नुपर्ने जति काम नगर्ने भएकोले प्रारम्भिक अवस्थामा मात्र यसको प्रयोग गर्नुपर्छ ।’

रेमडिसिभिर औषधिको प्रयोग भारतमा पनि धेरै भइरहेका कारण भारतबाट नेपालमा तस्करी भएर आउने क्रम निकै घटेको छ । बरु उल्टै नेपालमा व्यापारीहरुले स्टक राखेको औषधिसमेत तस्करी भएर भारततर्फ नै गइरहेको जानकारहरुले दावी गरेका छन् ।

नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिनाले निजी क्षेत्रले रेमडिसिभिर बिक्री गर्न नपाउने भएकोले त्यसको आपूर्ति र खपतको बारेमा जानकारी नभएको बताए । उनले ब्लेक मार्केटबाट बिरामीहरुले भने आपूर्ति गरिरहेको भएपनि अहिले भारतमै त्यसको ठूलो माग रहेका कारण नेपाली बिरामीहरुले सहजरुपमा नपाउने अवस्था उत्पन्न भएको आफुहरुले पनि सुनेको बताए ।

सोमबार, २० बैशाख, २०७८, बिहानको ११:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर