विराटनगर । बिहानको समय । सिमसिमे वर्षा । विराटनगर बसपार्कको प्रदुषण । टर्मिनल छेवैको एउटा कुनामा ओत लागेर बसेका सुर्खेतका शेरबहादुर विश्वकर्माका दम्पतीसहित चार छोराछोरी । एउटा नानी आमाको काखमा, अर्को चिसो भूँइमा पानीको बोतल टोक्दै गरेका । अलिक हुर्किएका नानीहरु बा ले पसलबाट केहि ल्याउलान् र खाउँला भन्दै आश भरिएका आँखा डुलाइरहेका थिए ।
परिवारसहित रोजिरोटीका लागि भारत पुगेका सुर्खेत चौकुनेका ४५ वर्षे शेरबहादुर तीन दिन लामो यात्रापछि शुक्रबार बिहान नेपाल–भारत सीमा नाका जोगबनी आइपुगेका थिए । भारतबाट आएका विश्वकर्मा परिवारलाई सीमा नाकामै स्वास्थ्यकर्मीले एन्टीजेन परिक्षण गर्दा श्रीमतीको रिपोर्ट पोजेटिभ देखियो ।
बिहान ८ बजे नेपाल प्रवेश गरेका उनीहरुलाई दिनभरी सीमामै रोकियो । उनीहरुलाई कहाँ पठाउने भन्ने विषयमा सरकारी निकायले कुनै निर्णय गरेन । उनीहरु राति ८ बजेसम्म सीमा क्षेत्रमै अलपत्र बसे । प्रदेश सरकारले होल्डिङ सेन्टर बनाएको थिएन ।
साँझ पर्दै गएपछि उनीहरुलाई रोकेर राखेका स्वाथ्यकर्मी आ–आफ्नो घर लागे । उनीहरु भने त्यहि अलपत्र परे । उनीहरुको समस्या कुनै तहको सरकारले सुनेन । राति उनीहरु हिँड्दै विराटनगर आए र बसपार्कमा अलपत्र आकाश ओढेर रात कटाए ।
तीन दिन लामो यात्राको थकान । भएको पैसा बाटैमा सकिसकेको थियो । आफ्नोभन्दा पनि कलिला छोराछोरीलाई के खुवाउने भन्ने सन्ताप थियो, शेरबहादुरलाई । सीमा क्षेत्रबाट आफ्नो देश छिर्दा शेरबहादुरको मुहारमा छाएको खुसी दिनभर दुधे बालकसहित चार जना लालाबालाको बिजोक हुँदा पनि कसैबाट सामान्य मानवीय व्यवहार नभेटेपछि हरायो ।
‘आफ्नो देश आइपुग्दा धेरै खुशी लागेको थियो, उनी सुनाउछन्, ‘तर नाकामा अलपत्र पारेर दुधे बालकसहित अलपत्र छोड्दा त आफ्ने देश जस्तो महशुस पनि भएन ।’ उनी थप्छन्, ‘के गर्नु रोजीरोटीका लागि भारत पुग्नु मेरो मात्रै बाध्यता होइन, हामी कर्णालीबासी सबैको बाध्यता हो । ’
शेरबहादुरका परिवार कोरोनाको हल्लाभन्दा अगाडि नै भारत छिरेका थिए । सँधैभरीको अभाव, सन्तानको भविष्यको चिन्ता हटाउन भारत छिरेको शेरबहादुर दम्पतिको रोजिरोटी राम्रैसँग चलिरहेको थियो । एकाएक कोरोनाको हुरीले बन्दै गरेको उनीहरुको भविष्यका स्वर्णिम सपना नै उडाइदियो ।
‘नहुनेलाई जहाँ गए पनि सुख नहुने रहेछ,’ दुःखका पोका फुकाउँदै उनी सुनाउछन्, नेपाल बसौँ कमाई छैन, खेती गरौँ पुगिसरी जमिन छैन, विदेश जाँउ पैसा छैन, भारतमा सुरक्षा गार्ड गर्दा कामइ रामै्र हुन्थ्यो । त्यो पनि कोरोनाले लग्यो ।’ भारतीय सिमानाकासँग जोडिएको प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा भारतबाट नेपाल प्रवेश गर्नेहरुका लागि न होल्डिङ सेन्टरको व्यवस्था छ, न क्वारेन्टिन ।
हाम्रो अभियानको साथ
अलपत्र परेका उनीहरुलाई हाम्रो अभियानले साथ दिएर घर पठाउने पहल गरेको छ । लामो समयको यात्रापछि विराटनगर आएर अलपत्र परेका उनीहरूलाई हाम्रो अभियानको टिमले यातायात साथै खानेकुरा समेतको बन्दोबस्त गरेर सुर्खेत पठाइएको अभियानको नेतृत्व गरिरहेका वसिम आलमले बताए ।
‘सानासाना नानीहरू रहेछन्, उनीहरूलाई हाम्रो अभियान टिमको तर्फबाट केहि खानेकुरा व्यवस्था गरेका छौं,’ आलमले भने, घरसम्म पुग्नका लागि सहज वातावरण बनाइ यातायातको व्यवस्था गरेर हामीले उनीहरुलाई सुर्खेत जाने प्रवन्ध गरेका छौं ।’
मानवता अझै मरेको रहेनछ…
हाम्रो अभियानबाट पाएको सहयोगले मानवता जीवित रहेछ भन्ने अनुभूती दिलाएको शेरबहादुर बताउँछन् । बालबच्चासहित भोकै राति ८ बजेसम्म सिमानाकामा बस्नुपर्दा आफ्नै देश उनलाई पराइ लागेको सुनाउछन् ।
मरे आफ्नै देशमा मरांैला भन्ने निधो गरेर नेपाल फर्केका शेरबहादुर दम्पतिलाई नेपालमा समेत बन्दाबन्दी हुँदैछ भन्ने पत्तो थिएन । राति बालबच्चासँग कहाँ जाने ? के गर्ने भन्ने चिन्ताले पिरोलेको उनलाई घर पुगिएला भन्ने आश विराटनगर बस पार्कमा नै मरिसकेको थियो । ‘उहाँहरुले खानाको बन्दोबस्त गर्दिएका छन्, उनी भन्छन्, घरसम्म पुग्न गाडी मिलाइदिए्, यस्तो देख्दा मानवता अझ मेरेको रहेनछ जस्तो लाग्यो । ’



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।