पथरीले जित्यो प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता

विराटचोक । सुन्दरहरैंचा– १२ को शुक्रबारे खेलमैदानमा जारी प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिताको उपाधी पथरीशनिश्चरे नगरपालिकाले हात पारेको छ ।

उपाधीसँगै पथरीशनिश्चरेले नगद ३ लाख र ट्रफी पाएको छ भने उपविजेता भएको आयोजक सुन्दरहरैंचाले नगद १ लाख ५० हजार र ट्रफी हात पारेको छ ।

आज भएको फाइनल खेलको २९ औं मिनेटमा पथरीशनिश्चरेका जर्सी नम्बर १७ का खेलाडी सन्तोष न्यौपानेले गरेको गोल नै निर्णायक गोल भएको थियो । गोल पोष्ट छेउमा बल समात्ने प्रयास गर्दा सुन्दरहरैंचाका खगोलकिपरको हातबाट गोल फुत्किएपछि जर्सी नम्बर ९ का खेलाडी दीपक राईको पासमा न्यौपानेले गरेको प्रहारले जाली चुमेको थियो । त्यसपछिको खेलमा दुवै टिमले गोल गर्न सकेनन् ।

प्रतियोगितामा दुवै टिमले गोल गर्ने धेरै अवसर गुमाएका थिए । सुन्दरहरैंचाका खेलाडीले खेलको ३०, ३२, ३७, ३८, ३९, ४१, ५२, ५३ र ५७ औं मिनेटमा गोल गर्ने अवसर गुमाएको थियो । खेलको ४५ औं मिनेटमा सुन्दरहरैंचाले पाएको फ्रि किकको सदुपयोग गर्न नसक्दा पनि उसले गोल गर्ने अवसर गुमाएको थियो ।

पथरीले खेलको १७, २७, ४६ औं मिनेटमा गरेका प्रहारले पनि जाली चुम्न सकेनन् । खेलको तेस्रो र ५१ औं मिनेटमा पाएको कर्नर किक पनि गोलमा परिणत हुन सकेको थिएन । त्यस्तै, खेलको ५० औंँ र ५८ औँ मिनेटमा पाएको फ्रि किकमा पनि पथरीले गोल गर्ने अवसर गुमाएको थियो । खेलको ६२ औं मिनेटमा पथरीका जर्सी नम्बर ९ का खेलाडी दीपक राईले पहेँलो कार्ड पाएका थिए ।

फइनल खेलको ‘म्यान अफ द म्याच’ आजको खेलको निर्णायक गोल गर्ने खेलाडी सन्तोष न्यौपाने घोषित भए । उनले नगद २ हजार पुरस्कार पाए ।

त्यस्तै, उत्कृष्ट गोलकिपर पथरीका अर्जन बस्नेत, उत्कृष्ट मिडफिल्डर पथरीका साइमन लिम्बू, उत्कृष्ट प्रशिक्षक पथरीका अर्जुन राई, उत्कृष्ट डिफेन्डर सुन्दरहरैंचाका महेन्द्र कार्की, उत्कृष्टल फरवार्ड सुन्दरहरैंचाका आशिष चौधरी, उत्कृष्ट व्यवस्थापक पथरीका रोशन मान्देङ्वा, उदीयमान खेलाडी सुन्दरहरैंचाका नितेश श्रेष्ठ, सर्वाधिक गोलकर्ता पथरीका विशाल पाण्डे र सुन्दरहरैंचाका वीरेन्द्र लिम्बू, सर्वश्रेष्ठ खेलाडी सुन्दरहरैंचाका टिम क्याप्टेन कोमल खवास घोषित भए । उनीहरुले जनही ५ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र एउटा महानगरपालिकाबीच खेल भएको थियो ।

मङ्गलबार, १४ बैशाख, २०७८, रातीको ०८:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर