विराटनगर । विराटनगर–७ धाडेवा रोडमा रहेको एक हार्डवयरको गोदामबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
दुई साताअघि बन्द भएको गोदाममा प्रहरीले पेस्तोल फेला पारेपछि गोदमका कामदार सुजित साहलाई आइतबार साँझ पक्राउ गरेको हो ।

राजकुमार रौनियारले दिलिप धाडेवाको घरको सटर भाडामा लिएर लामो समयदेखि हार्डवेयर र कपडाको गोदाम बनाएका थिए । १५ दिन अगाडि उनले गोदम हटाएर खाली गरेका थिए । आइतबार साँझ इटहरीबाट राजश्व अनुसन्धानको टोली राजस्व छली गरेको आशंकामा साहको गोदममा छापा मार्न पुग्दा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।

घटनास्थलमा वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी दिपक कार्की र जिल्ला प्रहरी कार्यालय मोरङका मुद्दा फाँटका प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वको टोली पुगेको थियो । पेस्ताल र त्यसमा लाग्ने गोली बरामद भएपछि गोदामका कामदार साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले पेस्तोल र गोली बरामद गरि एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको जानकारी दिए । ‘अहिले हामीले अनुसन्धान सुरू गरेका छौं,’ उनले भने, ‘बन्द गरिएको गोदामभित्र कसरी पेस्तोल आइपुग्यो । त्यस विषयमा अनुसन्धान सुरू गरेका छौं ।’ थप विषय अनुसन्धानपछि खुल्ने उनले बताए ।