नवनियुक्त मन्त्रीलाई सपथ

विराटनगर । प्रदेश १ मन्त्रिपरिषद् पुनर्गठन भएसँगै नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराइएको छ ।

मन्त्रिमण्डलका नयाँ अनुहारहरूमा माधव नेपाललाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा आएका र माओवादी छाडेर एमाले भएकाहरु प्राथमिकतामा परेका छन्।

नयाँ मन्त्रीहरूमा भर्खरै माओवादी छाडेर एमाले प्रवेश गरेका टंक आङ्बुहाङसहित उषाकला राई, अम्बिरबाबु गुरुङ, राम राना, कला घले र राजकुमार ओझा छन्।

आङ्बुहाङलाई अर्थ मन्त्रालय दिइएको छ भने सामाजिक विकास मन्त्रालयमा उषाकला राई, भौतिक पूर्वाधारमा अम्बिरबाबु गुरुङ र कृषिमा राम रानाले जिम्मेवारी पाएका छन्। उनीहरुलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले सपथ गराएका हुन् ।

कला घलेले कृषि राज्यमन्त्री र राजकुमार ओझाले वन राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्। उनीहरुलाई मु्ख्यमन्त्री शेरधन राईले सपथ गराएका हुन् ।

यसअघि आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका इन्द्रबहादुर आङ्बोलाई आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्रिय रहेको भन्दै मुख्यमन्त्री राईले पदमुक्त गरेका थिए भने सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जयमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएर अविश्वास प्रस्ताव पक्षमा हस्ताक्षर गरेका थिए।

शुक्रबार, १३ चैत, २०७७, दिउँसोको ०२:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर