विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको प्रश्नपत्र प्रकरण सम्बन्धमा परीक्षा नियन्त्रक कार्यालय काठमाण्डौंबाट आएको छानबिन समितिले अनुसन्धान थालेको छ ।
प्रश्नपत्र प्रकरणमा मुछिएका केन्द्राध्यक्ष तथा क्याम्पस प्रमुख बाबुराम तिमल्सिना, सहायक केन्द्राध्यक्ष सुशील अधिकारी र परीक्षा अधिकृत हरि तिम्सिनामाथि छानबिन समितिले अनुसन्धान थालेको हो । क्याम्पस प्रशासनकै आन्तरिक मिलेमत्तोमा प्रश्नपत्र बाहिरिएको आरोप लागिरहेको बेला विराटनगरस्थित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयका सह–नियन्त्रक नन्दकुमार न्यौपाने, त्रिभुवन विश्वविद्यालय परीक्षा बोर्डका सदस्य बैकुण्ठ खनाल र केशवराज शर्मा सहितको टोलीले घटनाको सुक्ष्म अनुसन्धान थालेको विद्यार्थी नेता तरुण बिक्रम खवासले जानकारी दिनुभयो ।
क्याम्पस प्रशासनमाथि गत फागुन २१ गते क्याम्पसको परीक्षा शाखाबाटै माइक्रो बायोलोजी तेश्रो वर्षको वार्षिक परीक्षाको प्रश्नपत्र गायब गर्नुका साथै हात्तीसार क्याम्पस धरानका फुड एण्ड एग्रीकल्चर संकायका विद्यार्थीहरुको माघ २७ गते हुने परीक्षाको प्रश्नपत्र २६ गते बाँडेर लिक गर्ने प्रयास गरेको आरोप छ ।
यता, फागुन २३ गते दिउँसो १२ः३० बजेका लागि निर्धारित विज्ञान संकायकै माइक्रो बायोलोजी बिषयको परीक्षाको प्रश्नपत्रको बण्डल नै गायब भएको बिषयमा पनि विद्यार्थी सङ्गठनहरुले दोषीलाई कारबाहीको माग गरेका छन् । परीक्षा हुनु अगावै प्रश्नपत्रको बण्डल गायब हुने बिषयलाई विद्यार्थी सङ्गठनहरुले सुनियोजित बताएका छन् । क्याम्पस प्रमुख डा.तिम्सिनाले उहाँकै व्यक्तिगत इमेलमा आएको प्रश्नपत्र फोटोकपी गरेर वितरण गरी २३ गतेको परीक्षा सम्पन्न गरिएको बताएपनि भुमिका शंकास्पद देखिएको अनेरास्ववियु ईकाई संयोजक आशिका लम्सालको भनाई छ ।
क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयका प्रमुख तथा सह–परीक्षा नियन्त्रक नन्दकुमार न्यौपानेले भने एम.बी ३०३ कोड नम्बर रहेको प्रश्नपत्रको बण्डल गायब भएको नभई काठमाडौँस्थित त्रिवि केन्द्रीय कार्यालयमै होल्ड भएको स्पष्ट पार्नुभयो । तर, महेन्द्र मोरङमा प्रश्नपत्र नपुगेपनि सोही प्रश्नपत्रबाटै अन्य आङ्गिक क्याम्पसहरुमा परीक्षा सञ्चालन भएको उहाँले जानकारी दिनुभयो ।
यता अनियमितताको आरोप लागेका परीक्षा अधिकृत हरि तिम्सिनाले भने आफूले अनुसन्धानमा सहयोग गर्नका लागि नैतिकताको आधारमा राजीनामा दिने बताउनुभएको छ । आफू निर्दोष साबित भए अनर्गल आरोप लगाउनेमाथि मुद्दा चलाउने उहाँको तयारी छ ।
सम्बन्धित प्रकरणबारे क्षेत्रीय परीक्षा नियन्त्रक नन्दकुमार न्यौपानेले केन्द्रीय परीक्षा समितिलाई जानकारी गराएपछि सो समितिले घटनाको निष्पक्ष छानबिनको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिएको छ । ब्युरोले छानबिन जारी रहेको बताउँदै क्षेत्रीय परीक्षा नियन्त्रक कार्यालयको प्रतिवेदनका आधारमा दोषीलाई कारबाही गरिने जनाएको छ ।
यो पनि पढनुहोस : प्राध्यापकको गल्ती औंल्याउँदा, विद्यार्थीलाई बर्बाद पारिदिने धम्की