विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको घटनाविरुद्ध आवाज उठाउने विद्यार्थीलाई एक प्राध्यापकले करियर बर्बाद गरिदिने धम्की दिएका छन् ।
विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा प्रश्नपत्रको बण्डल गायब भएको र परीक्षा अगावै प्रश्नपत्र बाँडिएको बिषयमा आवाज उठाउँदै आएका विद्यार्थीलाई सहायक केन्द्राध्यक्ष सुशील अधिकारीले करियर बर्बाद गरिदिने धम्की दिएका हुन् ।
फागुन २१ गते क्याम्पसको परीक्षा शाखाबाटै माइक्रो बायोलोजी तेश्रो वर्षको वार्षिक परीक्षाको प्रश्नपत्र गायब भएको थियो । त्यस्तै माघ २७ गते हुने परीक्षाको प्रश्नपत्र २६ गते नै बाँडिएको थियो । त्यही बिषयमा निरन्तर खबरदारी गर्दै आएका एक विद्यार्थीलाई सहायक केन्द्राध्यक्ष अधिकारीले शैक्षिक करियर बर्बाद गरिदिने धम्की दिएका हुन् । उनले भनेका छन, ‘किन यो बिषयमा लागीरहेका छौ, पछि तिम्रो करियर बर्बाद हुन्छ ।’ बुधबार हाम्रोमत दैनिकसँग सम्पर्क गर्दै विद्यार्थीले धम्की दिएको प्रमाण पेश गरेका हुन । धम्कीको प्रमाण हाम्रोमत दैनिकसँग सुरक्षित छ ।
गत फागुन २१ गते क्याम्पसको परीक्षा शाखाबाटै माइक्रो बायोलोजी तेश्रो वर्षको वार्षिक परीक्षाको प्रश्नपत्र गायब भएको थियो । फागुन २३ हुने परीक्षाको प्रश्नपत्र २ दिन अगावै गायब भएपनि विद्यार्थी सङ्गठनहरुले पनि फागुन २२ गते बेलुका मात्रै सो घटना बारे जानकारी पाएका थिए । परीक्षा शाखाबाटै प्रश्नपत्र गायब भएको सुचना भने फागुन २३ गते आईतबार परीक्षा भईसकेपछि मात्र विभिन्न सञ्चारमाध्यम मार्फत सार्वजनिक भएको हो ।
फागुन २३ गते भएको ५० पुर्णाङ्को सो परीक्षामा कुल ६० जना विद्यार्थीहरु सहभागी भएका थिए । सहभागीमध्ये क्याम्पस प्रशासन निकट अधिकांश विद्यार्थीहरुले प्रश्नपत्र चोरेरै सो बिषयको परीक्षा दिएको विद्यार्थी सङ्गठनको आरोप छ । परीक्षा अधिकृत हरि तिम्सिना, सहायक केन्द्राध्यक्ष सुशील अधिकारी र केन्द्राध्यक्ष एवं क्याम्पस प्रमुख बाबुराम तिम्सिनाको मिलेमत्तोमा प्रश्नपत्र गायब गरिएको संयुक्त विद्यार्थी सङ्गठनको ठहर छ । उनीहरुले उक्त गतिविधिमा संलग्नलाई कानुन बमोजिम कारबाही गरिनुपर्ने तथा केन्द्रबाट छानबिन समिति गठन गरि घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग समेत राखेका छन् ।
यता विद्यार्थी सङ्गठनले लगाएको आरोप निराधार भएको महेन्द्र मोरङका क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाले बताउनुभयो । परीक्षा नियन्त्रक कार्यालयबाटै भुलवश फरक बिषयको प्रश्नपत्र प्राप्त हुन आएकोमा पुनः फिर्ता पठाईएको उहाँको भनाई छ । क्याम्पसका शाखा अधिकृत हरिप्रसाद तिम्सिनाले परीक्षा कार्यालयबाट प्रश्नपत्रको १७ वटा पोका बुझेर ल्याउनुभएको थियो, उहाँले भन्नुभयो, ‘बुझेर ल्याइसकेपछि राम्रोसँग चेकजाँच गर्नुपर्थ्यो, तर त्यसो भएन । पछि पोकाभित्र परीक्षा हुने बिषयको प्रश्नपत्र नभएपछि सहायक क्याम्पस प्रमुखहरुको निर्णय बमोजिम प्रश्नपत्र फिर्ता पठाईएको हो ।’
यसअघि पनि क्याम्पस प्रशासनले हात्तीसार क्याम्पस धरानका फुड एण्ड एग्रीकल्चर संकायका विद्यार्थीहरुको माघ २७ गते हुने परीक्षाको प्रश्नपत्र २६ गते बाँडेको थियो । महेन्द्र मोरङ केन्द्र तोकिएको परीक्षामा सहभागी ३५ जनामध्ये एकजना विद्यार्थीले फोटो खिचेर प्रश्नपत्र लिक गरिदिएपछि सो प्रश्नपत्र परीक्षा नियन्त्रकसम्म पुगेको थियो । लगत्तै परीक्षा नियन्त्रकले क्याम्पस प्रमुख बाबुराम तिम्सिनालाई सम्बन्धित बिषयबारे अवगत गराएपछि भोलिपल्टको प्रश्नपत्र परिवर्तन गरिएको थियो । परीक्षा नियन्त्रको कार्यालयले ईमेलमार्फत नयाँ प्रश्नपत्र पठाएपछि सहभागी विद्यार्थीहरुले सोही बमोजिम परीक्षा दिएका थिए ।
परीक्षा नियन्त्रण तथा सुपरिवेक्षणको जिम्मा पाएका सहायक केन्द्राध्यक्ष सुशील अधिकारीको लापरबाहीका कारण प्रश्नपत्र लिक भएतापनि क्याम्पसले अहिलेसम्म उनमाथि कुनै किसिमको कारबाही गरेको छैन् । उनले अझै पनि परीक्षा सञ्चालन गराईरहेका छन् । क्याम्पसका कर्मचारीको दृष्टिदोषका कारण झुक्किएर सो प्रश्नपत्र विद्यार्थीहरुमा बाँडिएको सहायक केन्द्राध्यक्ष सुशील अधिकारीको भनाई छ । माघमा भएको परीक्षाहरु कोरोना महामारीका कारण गतवर्ष स्थगित गरिएका परीक्षा हुन, उहाँले भन्नुभयो, परीक्षा नियन्त्रक कार्यालयबाट आएका प्रश्नपत्रको खामको बाहिर २०७६ सालकै मिति लेखिएको र सोही मितिको आधारमा यसवर्ष परीक्षा लिनुपर्ने भएकाले झुक्किएर सो प्रश्नपत्र बाँडिएको हो ।’
पछिल्लो दुवै घटनाक्रमलाई महेन्द्र मोरङ क्याम्पसले दृष्टिदोष र परीक्षा नियन्त्रक कार्यालयको गल्ती बताइरहँदा पनि विद्यार्थी सङ्गठन भने सो को विरोधमा छन् । उनीहरुले सबै संयोग महेन्द्र मोरङ क्याम्पससँगै हुन नसक्ने भन्दै यसविरुद्ध कानुनी प्रक्रियामा जाने बताएका छन् । अनेरास्ववियु इकाइ संयोजक आशिका लम्सालले यस घटनामा संलग्नलाई कारबाहीको दायरामा नल्याए विद्यार्थी सङ्गठनहरु चरणबद्ध आन्दोलनमा ओर्लिदै अख्तियारसम्म पुग्ने चेतावनी दिनुभयो ।
क्याम्पसले बारम्बार विद्यार्थीको भबिष्यसँग खेलबाड गर्ने प्रयास गर्दैै आएकाले अब केन्द्रबाटै छानबिन समिति गठन गरि घटनाको निष्पक्ष अनुसन्धान गरिनुपर्ने विद्यार्थी नेता राकेश रोसन यादवको भनाई छ ।
पछिल्लो दुई घटनाक्रमलाई औल्याउँदै सोमबार मात्रै संयुक्त विद्यार्थी सङ्गठनले एक विज्ञप्ति जारी गर्दै घटनाको सुक्ष्म अनुसन्धान गरि दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका थिए । विद्यार्थी सङ्गठनले ४८ घण्टे अल्टिमेटम जारी गर्दै कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिएका थिए ।