विराटनगर । फागुन २० गते बिहीबारका लागि तोकिएको प्रदेशसभाको बैठक प्रदेश सूचना टाँस गरी स्थगित गरेकोप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ती जनाएको छ ।
प्रदेशसभा सचिवालयले विशेष कारण देखाउँदै २० गतेको बैठक चैत्र २ गतेका लागि सारेपछि काँग्रेसले दलहरुसँग आवश्यक परामर्श र छलफल नगरी सूचना टाँस गरेर प्रदेशसभा बैठक स्थगित गरेकोमा आपत्ती जनाएको हो ।
प्रदेशसभामा काँग्रेसका प्रमुख सतेचक केदार कार्कीले सरकार प्रदेशसभाप्रति अनुदार हुँदै गएको र सत्ताका लागि संसदलाई नै बन्धक बनाउने प्रयत्न गरेको भन्दै विरोध जनाउनुभयो ।
‘सरोकारवाला पक्षहरुसँग सहमतिको प्रयत्न नगरीकन फेरि पनि सूचनामार्फत लामो समय प्रदेशसभाको बैठक सार्ने कुरा दुःखद् छ,’ प्रमुख सचेतक कार्कीले भन्नुभयो ‘सत्ताको समय लामो बनाउनकै लागि यसरी व्यवस्थापिकालाई बन्धक बनाउने कार्यप्रति हाम्रो दल आपत्ती प्रकट गर्दछ ।’
व्यवस्थापिकाले सरकारका लागि आवश्यक पर्ने कानून निर्माण गर्ने र सोही कानून कार्यान्वयन गर्नुपर्ने सरकारले कानून बनाउनेतर्फ ध्यान नदिएर प्रदेशसभालाई बन्धक बनाई भ्रष्टाचारमा लिप्त बनेको कार्कीको आरोप छ । ‘सरकारको यो कार्यले सत्तामा बस्ने र क्षणिक लाभहरु लिने मनसुवा बाहेक अरु केही देखिदैन’ उहाँले भन्नुभयो ।
प्रदेशसभाका सभामुखको क्रियाकलापलाई पनि आफूहरुले नजिकबाट नियालिरहेको भन्दै कार्कीले सदनको प्रक्रियाबाटै जारी गतिरोध अन्त्य गर्नेतर्फ सभामुखले ध्यान दिनुपर्ने बताउनुभयो । संविधानमा उल्लेख भएको व्यवस्था अनुसार विधिवतरुमा अविश्वासको प्रस्ताव दर्ता भएको र त्यो प्रदेशसभामा पेशसमेत भइसकेको अवस्थामा मुख्यमन्त्रीले राजीनामा गर्ने वा सदन फेस गरेर समस्याका निकास खोज्नुको विकल्प नभएको उहाँको भनाइ छ ।
अविश्वासको प्रस्तावका सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रमुख सचेतक कार्कीले प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव नेपाली कांग्रेसको सम्पति भइसकेको टिप्पणी गर्नुभयो । ‘यो अविश्वासको प्रस्ताव हाम्रा लागि उपहार(गिफ्ट)स्वरुप प्राप्त भएको हो,’ कार्कीले भन्नुभयो ‘उपहारमै पाएको त्यो प्रस्ताव हाम्रो सम्पति भइसकेकोले त्यसबारे काँग्रेसले के गर्छै भन्ने कुनै शंका नगर्नुहोस् ।’