काठमाडौं । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ।
बिहीबार बिहान बालुवाटारमा भएको वार्तामा यस्तो तीन बुँदे सहमति भएसँगै सरकारले लगाएको प्रतिबन्ध फुकुवा हुने भएको छ ।
गृहमन्त्री रामबहादुर थापा र विप्लबको पार्टीका तर्फबाट खड्गबहादुर विश्वकर्मा नेतृत्वको वार्ता टोलीबीच सहमति भएको हो । सहमतिमा विप्लब समूहसँग वार्ताको माध्यमबाट सबै समस्याको समाधान खोज्ने, विप्लब समूहले शान्तिपूर्ण राजनीति गर्ने र सरकारले प्रतिबन्ध फुकुवा गर्ने उल्लेख छ ।
सहमतिको विस्तृत विवरण शुक्रबार प्रधानमन्त्री केपी ओली र विप्लबले एक समारोहबीच सार्वजनिक गर्ने जनाइएको छ ।