सुनवर्षीका वडाअध्यक्ष मियाँको दोहोरो नागरिकता

विराटनगर । मोरङको सुनबर्षी नगरपालिका ८ का वडा अध्यक्ष नुरुल मियाँसँग दोहोरा नागरिकता रहेको पाइएको छ । मियाँको नेपाल र भारतको दोहोरो नागरिकता रहेको खुलेको हो ।
वडाअध्यक्ष मियाँले ७०५४९२०३५५७० ‘क’ भीआइडी ९१२३८१११८८५३४५० नम्बरको आधारकार्ड रहेको छ । उक्त आधारकार्डमा १९७९–१–१ लेखिएको छ । नेपाली नागरिकता मा भने नुरुलको जन्म २०३६ बैशाख २० गते लेखिएको छ । उक्त नागरिकता ६११८ नम्बरको र जारी मिति २०५५ असार ५ गते भएको पाईएको छ ।
आधारकार्डका आधारमा भारतको फिनो पेमेन्टस बैंकमा २०००२७६३७३२ नम्बरको आफ्नो बैंक खाता समेत सञ्चालन गरेर सन् २०१८ डिसेम्बर ५ तारिख (२०७५ मंसिर १९) मा एटिएम समेत लिएको देखिन्छ । उनले बैंकमा ९०६५६८८१९८ नं.को भारतीय सम्पर्क नं. राखेका छन् । सो बैंक खातामा नुरुलको ठेगाना मातारा मिया सोनापुर वडा नं. ८ अररिया देखिन्छ ।
यता नेपालमा पनि नुरुल मियाँको नाममा वंशजकै नागरिकता रहेको छ । उनले वंशजको नागरिकता लिएको देखिएको छ । आधार कार्डको आधारमा भारतीय बैंकहरुमा खाता खोलेर एटीएम, भारतबाटै सिम कार्ड निकालेर प्रयोग गरेको देखिन्छ । वडाअध्यक्ष मियाँले व्यवसाय गरेपछि बैंकमा खाता खोलेको बताउँदै अहिले ठेक्कापट्टा लगायतका विषयमा जोडिएका केही व्यक्तिहरुले अनावश्यक उचालेर प्रभावित बनाउन खोजेको बताए । उनले दिल्लीमा बस्दा आधार कार्ड बनाएको स्वीकार गर्दै आफू भारतीय नागरिक नभएको बताए । ‘चारवर्ष अगाडीसम्म दिल्लीमा मेरो व्यवसाय थियो, अध्यक्ष मियाँले भने, ‘त्यो कुरा अहिले पत्रकार सम्मेलन गर्नेहरुलाई चुनावकै बखत पनि थाहा थियो ।’ आधार कार्ड बनाएपछि बस्नका लागि सहज हुने भएका कारण बनाएको बताउँदै अध्यक्ष मियाँले भारतीय नागरिक भएको पुष्टि हुने अन्य कागजात नभएको दावी गरे ।
स्थानीय युवा इस्तियाज आलम र वडा सदस्यहरुकै सक्रियतामा माघ २६ गते जिल्ला प्रशासन कार्यालय मोरङ विराटनगरमा नुरुल मियाँको दोहोरो नागरिकता बारे छानबिन गरी कारबाहीको माग गर्दै उजुरी हालेका छन् । नुरुलले भारतको नागरिकताबाट त्यहाँको सुबिधा प्रयोग गर्दै नेपाली नागरिक हुँ भन्दै झुटो विवरणको आधारमा नेपाली नागरिकता लिएको भन्दै नेपाली नागरिकता ऐन २०६३ दफा १० अनुसार नेपाली नागरिकता बद्दर गरी ऐनको दफा २१ बमोजिम कारबाही गर्न उनीहरुले पत्रकार सम्मेलन गरि माग गरेका छन् ।
जनता आवस कार्यक्रममा हिनामिना गरेको आरोप
वडा अध्यक्ष मियाँले जनता आवास लगायतको कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सोही वडाका वडा सदस्य कन्याँ मिया, कन्हैया लाल गन्गाई , दुखिया ऋिषिदेव र शिला देवी गनगाँईले संयुक्तरूपमा कार्वाहीको लागि आवहान गरेका हुन् ।
वडाअध्यक्षले जनता आवास कार्यक्रम अन्तर्गत सुनबर्षी–८ मा ५६ वटा घर निर्माण हुनुपर्ने थियो । तर, त्यहाँ हालसम्म १४ वटा मात्र घर बनेको त्यो पनि नक्सा र स्टीमेट अनुसारको नबनेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी हालेका हुन् । जनता आवास कार्यक्रम अनुसारको घर निर्माण गर्न वडा अध्यक्ष नुरुल मियाकै संयोजकत्वमा उपभोक्ता समिति गठन भएको अख्तियारलाई बुझाएको उजुरी पत्रमा उल्लेख छ । निर्माण भएको १४ वटा घर पनि नक्सा अनुसारका नबनेको, स्टीमेटमा घरको जग २२ फुटको भएपनि २० फुटमा मात्र बनाइएको, पीसीसी, डीपीसी योजना अनुसार नभएको, इँटा, सिमेन्ट कमसल प्रयोग गरेको, रड स्टीमेटको भन्दा सानो प्रयोग भएको भन्दै तत्काल छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।

बुधबार, १९ फागुन, २०७७, दिउँसोको ०१:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर