विराटनगर । ठेकेदारको दादागिरीका सामु जनप्रतिनिधि र सरकारी संयन्त्र रमिते बन्दा मोरङको केराबारी क्षेत्रमा मौलाएको प्राकृतिक स्रोत दोहनले भयावह अवस्था निम्त्याउन थालेको छ । सिंगो जीवनको स्रोत मानिने खोलामा दोहन उच्च हुँदा स्थानीयबासीले सिंचाई र खानेपानी जस्ता आधारभूत आवश्यकताबाटै वञ्चित हुनुपर्ने अवस्था आएको छ ।
गाउँपालिकाभित्रका खोला र त्यसछेउका निजी जमिनमा जनप्रतिनिधिहरुकै संरक्षणमा क्रसर उद्योगहरुले मनपरी उत्खनन् जारी राखेका छन् । यसले गाउँमा आपूर्ति हुने खानेपानीको स्रोत निरन्तर सुक्न थालेको छ ।
वातावरणीय प्रभाव मूल्यांकनको सीमा मिचेर ठेकेदारले चुरे क्षेत्रको खोला र त्यसछेउका जमिनमा जथाभावी गरेको उत्खनन्ले खानेपानीको स्रोत सुक्न थालेको केराबारी गाउँपालिका ८ आमजुगीका तुलसी भण्डारीले बताउनुभयो । ट्युवेल (चापाकल) को स्रोत सुक्न थालेपछि केराबारीका स्थानीय बासिन्दा सकसमा परेका छन् ।
तराई क्षेत्रको पानीको मुख्य स्रोत चापाकल सुक्न थालेपछि स्थानीयबासी बोरिङ गरि ट्याङकीमा पानी जम्मा गर्न थालेका छन् । स्थानीयबासीका अनुसार विगतमा केराबारीमा पानीको समस्या थिएन । तर, पछिल्ला वर्षहरूमा चुरे क्षेत्रका खोलामा जथाभावी भएको उत्खनन्ले पानीको स्रोत सुक्न थालेको भण्डारीले बताउनुभयो । ६–७ वर्ष अगाडि ५० देखि ६० फिटको गहिराइमा गाडिएको चापाकलहरुमा सहजै पानी आउने गर्दथ्यो । तर, अहिले १ सय २० देखि १ सय २५ फिटको गहिराइमा पनि पानी आउन मुश्किल पर्ने गरेको केराबारी ८ की खड्गमाया खड्काले बताउनुभयो । पानीको स्रोत सुक्ने क्रम यति तीव्र छ कि विद्युतीय मोटरले समेत पानी तान्न छोडेको उहाँको भनाइ छ ।
मोटरले पानी तान्न छोडेपछि अहिले बोरिङ गरिएको उहाँले बताउनुभयो । ‘अहिले मोटरले पानी तान्न छोडेको छ । सबैले मोटर चलाइदिँदा पानी नै आउँदैन,’ उहाँले भन्नुभयो, ‘केराबारी क्षेत्रमा बढ्दै गएको समस्या समाधान गर्न कसैले चासो देखाएको छैन ।’
चुरे जंगलको फँडानी, ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खनन् जस्ता कार्यले पनि पानीको समस्या निम्त्याएको विज्ञहरुको भनाइ छ । पानीको अत्याधिक माग रहेकोले त्यसलाई नियन्त्रण गर्ने अर्को विकल्पका रुपमा आकाशे पानीको संकलन भरपर्दो उपाय हुनसक्ने विज्ञहरु बताउँछन् । पानी सञ्चित गर्न चुरे क्षेत्रमा रिजर्भवायहरु बनाउन सकिए खानेपानीको समस्या ठूलो हदसम्म समाधान गर्न सकिने उनीहरु बताउँछन् ।
एकातिर जीवनको मूलस्रोत खानेपानीको कहर छ भने अर्कातिर अवैध उत्खनन्ले खेतीपातीको स्रोत सिंचाईं पनि सुकाइदिएको छ । क्रसर उद्योगी भीम पौडेलको महादेवा मिनिरल इन्डष्ट्रिज र शिवम् क्रसरले मापदण्ड विपरित केराबारी ८ खदम खोलाछेउको निजी जग्गामा गरेको उत्खनन्ले किसानका खेतमा सिंचाईं हुने कुलो भत्काइदिएको छ । खदम खोलाको बाँध बाँधेर सिंचाईं गर्न बनाएको कुलो मापदण्ड विपरित उत्खनन् गर्दा भत्किएको स्थानीयको भनाइ छ ।
केराबारी ८ आमजुगीका करिब पाँच सय घरपरिवारले खेती गर्न सिसौली पैनी नामको कुलो बनाएर दुई वर्ष अगाडि पानी ल्याएका थिए । ‘जथाभावी उत्खनन् गरेको कारणले अहिले सिंचाईं गर्ने कुलो भत्काइदिएको छ,’ केराबारी ८ का गोपाल खड्काले भन्नुभयो, ‘सिसौली पैनीमा आएको पानीले २ सय बिघा खेतीयोग्य जमिनमा सिंचाई हुने गरेको थियो ।’
अवैध रुपमा खोला र त्यसछेउको क्षेत्रमा भएको उत्खनन्ले अहिले केराबारीका आमजुगीका किसान सिंचाईंबिहीन हुनुपरेको छ । किसानले वर्षभरीमा तीन वाली खेती गर्दै आएका छन् ।
केराबारी गाउँपालिका प्रमुख रोहित कार्कीले मापदण्ड विपरित हुने उत्खनन् रोक लगाएर भत्किएको सिञ्चाइ पुनःनिर्माण हुने बताउनुभयो । ‘क्रसर उद्योगले उत्खनन्को क्रममा भत्काएको कुलो बनाउने सहमति भएको छ,’ उहाँले भन्नुभयो, ‘किसानका लागि गाउँपािलकाले पानी सञ्चितिका लागि योजना अगाडि सारेको छ ।’
सो क्षेत्रमा ८ देखि १० बिघाको प्लट बनाएर पानी संञ्चित गर्ने योजना ल्याएको कार्कीले जानकारी दिनुभएको छ । ड्याम बनाएर दिगो पानीको योजना पनि गाउँपालिकाले ल्याएको र अहिले सर्भे भइरहेको उहाँको भनाइ छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।