विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको सुरक्षा आफुहरु गर्ने बताउनुभएको छ । प्रधानमन्त्री नै असुरक्षित हुनुभएको हो भने आफ्नो दल सुरक्षा दिन तयार रहेको उहाँको भनाइ छ ।
विराटनगरमा आज प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीदेखि सबैको सुरक्षाप्रति संवेदनशील हुनुपर्ने बताउनुभयो ।
‘प्रधानमन्त्रीज्यूले आफू असुरक्षित भएको बताएको मैले पनि सुनेको छु,’ नेपालले भन्नुभयो, ‘देशका प्रधानमन्त्री नै असुरक्षित हुने हो भने नागरिकको अवस्था के होला ?, हामीलाई त त्यस्तो लाग्दैन, बरु उहाँलाई हाम्रो दल नेकपाले सुरक्षा दिन्छ ।’
पूर्वप्रधानमन्त्री नेपालले संसद अधिवेशनसँगै राजनीतिक गतिरोध सहजतातर्फ अघि बढ्ने बताउनुभयो । प्रतिगमनका विरुद्धमा रहेका सबै दलसँग राजनीतिक निकास र नयाँ सरकार गठनका विषयमा हातेमालो गर्ने उहाँले बताउनुभयो । प्रतिगमनलाई साथ दिएकाहरुले गल्ती महशुस गरेर आए आफ्ना पार्टीका नेता कार्यकर्ताहरुलाई स्वागत गर्न आफुहरु तत्पर रहेको पनि उहाँको भनाइ थियो ।
सरकार विरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव बढाउने विषयमा नेता नेपालले तत्काल केही नबोलने बताउनुभयो । त्यसका लागि प्रतिगमनको विपक्षमा रहेका प्रमुख तीन दलसँग छलफल गर्ने भन्दै उहाँले भन्नुभयो ‘हामीले दर्ता गरेको प्रस्तावमा सहयोग गर्नुस् सक्नुहुन्न भने तपाईहरु प्रस्ताव अगाडि बढाउनुस् हामी सहयोग गर्छौं ।’