विराटनगर । अव्यवस्थित बसोबास गर्दै आएका विपन्न ऋषिदेव समुदायका लागि मोरङको कटहरी गाउँपालिकामा १५ वटा घर बनेको छ ।
वडा समितिको पहलमा विभिन्न स्रोतको खोजी गरी भवन निर्माण कार्य सम्पन्न गरेको कटहरी २ का वडाध्यक्ष किशोरकुमार पाण्डेले जानकारी दिनुभएको छ ।
प्रदेश १ सरकारका पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरेको प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट ५० लाख रुपैयाँ, ह्याविट्याट नेपालको १५ लाख रुपैया, वडा कार्यालय र जीवन विकास समाज आदि संस्थाहरुको सहयोगमा १५ परिवारका लागि घर निर्माण गरिएको हो । विपन्नको घर निर्माणका क्रममा स्थानीयहरुले पनि जनश्रमदान सहयोग गरेका थिए ।
भूमिहीन ऋषिदेव समुदायले घर निर्माणको लागि जमिन भने आफैं खरिद गरेका थिए । जमिन खरिद गरे घर बनाइदिने प्रस्ताव गरेपछि उनीहरुले जमिन खरिद गरेका थिए । जमिन खरिद गर्दा विभिन्न वित्तीय संस्थाहरुसँग कर्जाका लागि स्थानीय राजनीतिक दल तथा जनप्रतिनिधिहरुले समन्वय गरेका थिए ।
खरिद गरेको जमिनमा १५ वटा घरको निर्माण कार्य सम्पन्न भएको वडाध्यक्ष पाण्डेले जानकारी दिनुभयो । नयाँ घर बनेको बस्तीसम्म पुग्नका लागि कटहरी २ ले बाटो निर्माण कार्य गरिरहेको छ । बाटो बनाउने काममा स्थानीय युवा र महिलाहरु सक्रियतापूर्वक श्रमदानमा जुटेको वडाध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
स्थानीय विपन्न गरिब जनताको जीवनस्तर उकास्न सबैले साथ र सहयोगको भावना राखेको र श्रमदानमा सक्रिय भएर त्यसलाई व्यवहारमा कार्यान्वयन गरेको वडाध्यक्ष पाण्डेको भनाइ छ । उहाँले बाटो निर्माण कार्य सकिएपछि वृक्षारोपण गरी हरियाली प्रवद्र्धन गर्ने पनि जानकारी दिनुभयो ।
स्थानीय क्षेत्रको विकासमा क्रियाशिल रहदै आउनुभएका वडाध्यक्ष पाण्डेले भन्नुभयो ‘हामी जनताको जीवन सुखी र खुसी बनाउने निरन्तर पहल र प्रयत्न जारी राख्छौं ।’ उहाँले अघिल्लो आर्थिक वर्षमा पनि संघीय सांसद अमनलाल मोदीको संसदीय निर्वाचन क्षेत्र विकास कोषबाट त्यस क्षेत्रमा निर्माण भइरहेको ५० वटा घरका लागि थप स्रोतको व्यवस्थापन गर्दै ५० लाख रुपैयाँ उपलब्ध गराइएको जानकारी दिनुभयो ।