विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आजको बैठकले संसद् अधिवेशन आह्वान गर्ने अनुमान छ । त्यस्तै दल विभाजनबारे अध्यादेश ल्याउने आंकलन पनि छ ।
यद्यपि अध्यादेश ल्याएर प्रधानमन्त्रीले दल विभाजनको बाटो सहज बनाउलान् कि मौजुदा अन्योललाई निरन्तरता देलान् ? ‘सम्भावना जे पनि हुनसक्छ’, मन्त्रीपरिषद स्रोतको भनाइ छ ‘अहिले नै केही भन्न सकिने अवस्था छैन । प्रधानमन्त्री परामर्शमै हुनुहुन्छ ।’
प्रधानमन्त्री ओली हालको नेकपामा असहज अवस्थामा छन् । संसदीय दल, केन्द्रीय समिति र स्थायी कमिटीमा अल्पमतमा भएकै कारण उनले यसअघि बैठक छल्ने गरेका थिए । त्यसैले यसअघि नै दल विभाजन सहज हुने अध्यादेश ल्याएका थिए । तर, चौतर्फी आलोचनापछि उनले त्यो अध्यादेश फिर्ता लिनु परेको थियो ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि पहिलो पटक आज मन्त्रिपरिषद बैठक बस्न लागेको हो।
साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए।
सर्वोच्च अदालतले फागुन ११ गते दिएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि परमादेश दिएको थियो।
आजको बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्छ कि गर्दैन भन्ने टुंगो छैन।