प्रतिनिधिसभा पुनःस्थापना भए आन्दोलन गर्ने प्रधानमन्त्रीको धम्की (भिडियो)

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

शनिबार विराटनगरमा आयोजित आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले सेटिङ भएर प्रतिनिधिसभा पुनःस्थापना गरिए आन्दोलन गर्ने चेतावनी दिनुभएको हो ।

प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्दै प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रचण्ड–माधबकुमार नेपाल नेतृत्वमा नेकपाकै बहुमत पक्षसहित सबै दलहरु आन्दोलनमा रहेको बेला प्रधानमन्त्रीले पनि आन्दोलनको धम्की दिनुभएको हो । प्रतिनिधिसभा विघटन सदर गराउन प्रधानमन्त्रीले संवैधानिक निकायमा ‘सेटिङ’ गरिरहेको आशंका अन्य दलहरुले गरिरहेको बेला ओलीले संसद पुनःर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी गर्नुभयो

‘कुनै सेटिङ फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन,’ ओलीले भन्नुभयो । अहिलेको जनअपेक्षा चुनाव भएको भन्दै उहाँले त्यसविपरीत निर्णय आए आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

देश चुनावमा गइसकेको र प्रधानमन्त्रीलाई चुनाव गराउने अधिकार रहेको भन्दै ओलीले चुनाव वैशाखमै हुने दाबी गर्नुभयो । आफूले नेतृत्व गरेको नेकपाले चुनाबमा बहुमत ल्याउने उहाँको ठोकुवा छ ।

प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने भन्दै ओलीले भन्नुभयो, ‘सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्था फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न म भन्न चाहन्छु ।’ कुनै कारण प्रतिनिधि सभा पुनस्र्थापना हुने भयो सांसद किनबेच, सरकार बनाउने-ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई कमजोर बनाउने उहाँको भनाइ छ ।

 

 

शनिबार, ०८ फागुन, २०७७, साँझको ०५:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर