विराटनगर । प्रदेश सरकारको नियुक्ति लिएर सरकारी तलब खाइरहेकाहरुको अगुवाईले बिहीबार विराटनगरमा बन्दविरोधी जुलुस निकालिएको छ ।
नेकपा प्रचण्ड-नेपाल समूहले आयोजना गरेको आमहड्ताल सकिनलाग्दा ५ बजेतिर बन्दको विरोधमा जुलुस निकालिएको थियो ।
बन्दको विरोधमा भन्दै जुलुस निकालिएको भएपनि उनीहरुको जुलुसका कारण खुल्ला रहेको बजारसमेत बन्द भएको थियो । नेकपा प्रचण्ड–माधब समूहको बन्द कडा नभएकोले बजारका कतिपय पसलहरु दिनभर खुल्ला थिए । साँझ पर्न लागेको कारण अन्य पसलहरु पनि खुल्दै गएको बेला ‘बन्द हड्ताल बन्द गर’ भन्दै जुलुस निस्किएपछि व्यवसायीले त्रासका कारण हतारमा सटर तानेका थिए ।
जुलुसको अगुवाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको म अघि बढ्छु कार्यक्रमका मोरङ संयोजक भाष्कर खनाल र मन्त्री हिक्मतकुमार कार्कीको सचिबालयमा कार्यरत नविन पहाडीलगायतले गरेका थिए । उनीहरु दुबै अखिलका कार्यकर्ता हुन् । जुलुसमा ओलीपक्षीय अखिलका जिल्ला नेता सन्तोष घिमिरेसहित करिब २५ जना सहभागी थिए ।