आन्तरिक पर्यटक तान्दै इलामको श्रीअन्तु

विराटनगर । ‘रेशमैको पछ्यौरी अल्झेछ जंगली काँडैमा,
झुल्के घाम हेर्न कान्छी जाउँ अन्तु डाँडैमा ।’

हो, यो गीतले भने जस्तै झुल्के घाम हेर्न श्रीअन्तुमा यतिबेला पर्यटकको ओइरो नै लाग्ने गरेको छ । कोरोना कहरका कारण लामो समयपछि पुनर्जीवित भएको पर्यटन क्षेत्र श्रीअन्तुमा यतिबेला आन्तरिक पर्यटकहरुको आगमनमा वृद्धि भएको छ । बिहानबिहानै खुलेको आकाससँगै अन्तु डाँडाबाट देखिने सूर्याेदयको मनमोेहक दृश्यले जोकसैलाई लोभ्याउँछ ।

दैनिक सयौंको संख्यामा पर्यटकहरुको आवागमन भएसँगै आसपासका क्षेत्रमासमेत व्यापार व्यवसायले क्रमशः गति लिन थालेको छ । ‘कोरोना कहरका कारण ठप्प बनेको व्यापार व्यवसाय बिस्तारै गति लिँदैछ’ स्थानीय व्यवसायी दिपेन पुलामीले भन्नुभयो, ‘लामो समयदेखि बन्द भएको पर्यटन व्यवसाय भर्खरै जुरमुराउँदै छ, दैनिक ८ सय बढी पर्यटक आउँछन् ।’

यहाँबाट सजिलै देख्न सकिने उत्तरी हिमश्रृङ्खलाले गर्दा पनि अन्तु पछिल्लो समय पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्दै गइरहेको छ । यहाँको अन्तु पोखरी, मनमोहक हरियाली, चियाबारीका डाँडाकाँडा, कोणधारी धुपी–सल्ला र सिजन अनुसारका फलफूल तथा अन्नबाली पनि अन्तुमा पर्यटक आकर्षणका कारक हुन् ।

पछिल्लो समय अन्तुमा युगल जोडीहरु थुम्का–थुम्कामा लह–लह भएका चियाबारी घुम्ने, चियामै रमाउने र चियाका बोटमा सयौं सेल्फी खिच्नेको ओइरो नै लाग्ने गरेको छ । क्षणभरमै मौसम परिवर्तन हुने ईलाममा गर्मी महिनामासमेत हुस्सु र कुहिरो लाग्छ । लुकामारी खेल्दै क्षणभरमै परिवर्तन हुने मौसमले पनि पर्यटकलाई सजिलै लोभ्याउने गर्छ ।

अन्तुमा पर्यटकहरुको उचित बसोबासका लागि घर–घरमा होमस्टेको विकास भएको छ । ग्रामीण पर्यटनको अभ्यास गरिरहेको अन्तुका बासिन्दा एक दशकभन्दा बढी समयदेखि स्वदेशी र विदेशी पर्यटक भित्रयाउन कस्सिएर लागेको पर्यटन व्यावसायी धरणी घिमिरेको भनाई छ । समुन्द्र सतहदेखि करिब २ हजार मिटरको उचाईमा रहेको अन्तुलाई स्थानीयको सक्रियतामा सरकारको उचित सहयोग र प्राकृतिक स्रोत साधनको समुचित उपयोगले थप आकर्षक देखाउन खोजिएको खण्डमा यस क्षेत्रले थप उचाई पाउने निश्चित छ ।

मङ्गलबार, १३ माघ, २०७७, दिउँसोको ०२:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर