विराटनगर । मोरङको बुढीगंगामा रहेको बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्स प्रालिले अत्याधुनिक ‘ग्यालभोलुम रंगिन र सादा कर्कट जस्तापाता’ को उत्पादन सुरू गर्ने भएको छ । आउँदो वैशाखदेखि कम्पनीले उक्त नामको जस्तापाता उत्पादन गरि बजारमा ल्याउने भएको हो ।
यसअघि आरती स्ट्रिप्सले जिङ्क कोटेड र कर्कट पाता २ लाइनबाट उत्पादन गर्दै आएको थियो । अहिले नयाँ उत्पादन गर्न लागेको ‘ग्यालभोलुम रंगिन र सादा कर्कट जस्तापाता’ टिकाउमा साधरण जस्तापाता भन्दा ४ गुणा बढी हुने कम्पनीको दाबी छ । ‘बजारमा आउन लागेको ‘ग्यालभोलुम रंगिन र सादा कर्कट जस्तापाता’ अत्याधुनिक हो,’ आरती स्ट्रिप्स प्रालिका प्रशासन प्रमुख दिवस नेपालले भन्नुभयो, ‘यो कर्कट जस्तापाता चम्किलो र नेपालको हावापानीमा सुहाउँदो छ ।’
यसको लागि कम्पनीले चैत महिना भित्रमा ‘सीआर रोल’ मिल पनि संचालनको तयारीमा रहेको छ । सीआर मिल संचालनमा आएपछि जस्तापाताको लागि आवश्यक पर्ने कच्चापदार्थ स्वदेशमा उत्पादन हुने कम्पनीको भनाइ छ । ‘आरतीले ल्याउन लागेको ग्याल्भोलुमको नेपालमा पहिलो प्लान्ट हो,’ प्रशासन प्रमुख नेपालले भने, ‘ग्यालभोलुम कर्कट जस्तापाता विभिन्न रंगहरूमा आकर्षक डिजाइनमा आउनेछ ।’ यसले घरलाई सुन्दरता प्रदान गर्नुको साथै ठूला कलकारखाना बनाउन, घरको सिलिङ लगाउन तथा घरको छानामा बुहउपयोगी हुनेछ । ‘ग्यालभोलुम रंगिन र सादा कर्कट जस्तापाता’ वार्षिक ३० हजार मेक्ट्रिन उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।
करिब १७ बिघा क्षेफेलमा फैलिएको बहुराष्ट्रिय कम्पनीले अहिले जिङक कोटेड जस्तापाता र कर्कट पाता २ लाइनको वार्षिक ५० हजार मेक्ट्रिकटन उत्पादन गर्दै आएको छ । सन् २०१४ देखि कालो पाइपको पनि उत्पादन गर्दै आएको छ । पाइप उत्पादनको मिल राखेपछि वार्षिक ४० हजार टन वार्षिक उत्पादन हुने गरेको छ ।