मुख्यमन्त्री राईले मोडल शेर्पासँग विवाह गर्दै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्नुहुने भएको छ । ५१ वर्षीय राईले आफूभन्दा २८ वर्ष कम उमेरकी संखुवासभा घर भएकी २२ वर्षीया ज्याङमु शेर्पासँग विवाह गर्न लाग्नुभएको हो ।

राईको माघ ११ गते काठमाडौंमा विवाह हुने उहाँको सचिबालयले जनाएको छ । मिस मंगोल–२०१८ को ताज बिजेता शेर्पासँग हुने विवाहमा नेकपाका सिमित नेताहरु, निकट मित्र र पारिवारिक सदस्यहरु मात्र सहभागी हुनेछन् ।

शेर्पासँग राईले प्रेम विवाह गर्न लागेको स्रोतले जनाएको छ । उनी हाल काठमाडौंमा हजुरआमासँग बस्दै आएकी छन् । उनका बाबु–आमा भने अमेरिकामा छन् । सामाजिक काममा सक्रिय उनले काठमाडौंको अल्पाइन् भ्याली स्कुलमा प्रारम्भिक शिक्षा र हिमालयन इन्टर मोडलबाट उच्च शिक्षा लिएकी हुन् ।

मुख्यमन्त्री राई र मोडल ज्याङ्मुको उमेरमा आधाभन्दा धेरै अन्तर छ । शेर्पा तत्कालिन समयमा मिस मंगोल नेपालमा सहभागी हुँदा १९ वर्षकी थिइन् । उनी ११ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएको फोटो उनले १० वर्ष अगाडिको घटनाभन्दै एक वर्ष अगाडि सामाजिक सञ्जालमा शेयर गरेकी छन् । त्यस आधारमा उनको अहिलेको उमेर २२ वर्ष पुगेको देखिन्छ ।

किशोर उमेरदेखि नै राजनीतिमा सक्रिय राईले मोडलसँग विवाह गर्न लाग्नुभएको हो । २०२७ साल फागुन ११ गते जन्मनुभएका  राईले मुख्यमन्त्री भएपछि विवाह गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । पछिल्लो समयमा उहाँले प्रदेश १ को नामकारणपछि विवाह गर्ने बताउनुभएको थियो ।

तर, प्रदेशको नामाकरण अझै हुन सकेको छैन भने मुख्यमन्त्री राई विरुद्ध नेकपाकै बहुमत सांसदहरुले प्रदेशसभाभामा अविश्वासको प्रस्ताव पेश गरेको बेला उहाँ विवाहको तयारीमा जुट्नुभएको हो । उहाँविरुद्धको अविश्वास प्रस्ताव माघ ७ गतेबाट सुरु हुने प्रदेशसभाको बैठकमा पेश हुँदैछ ।

शनिबार, ०३ माघ, २०७७, दिउँसोको ०४:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर