विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको ढुलमुले चरित्रको कारण प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलन सशक्त हुन नसकेको बताउनुभएको छ ।
विराटनगरमा शनिबार मानव अधिकार तथा शान्ति समाज मोरङको साधारणसभामा नेता कोइरालाले सभापतिकै कारण काँग्रेसले प्रतिगमी कदम रोक्न र त्यसविरुद्धको आन्दोलन प्रभाबकारी बनाउन नसकेको दावी गर्नुभयो ।
‘मुख्य प्रतिपक्षी दल भएर हामी काँग्रेसले खेल्नुपर्ने जति भूमिका थियो, त्यो सभापतिको कारण खेल्न सकिएन’ कोइरालाले भन्नुभयो, ‘आफूहरुको चौतर्फी दबाबपछि अब काँग्रेस पनि आन्दोलनमा जाने वातावरण तयार भएको छ ।’ सभापतिले अदालतको बहाना बनाउँदै प्रतिगमी कदम विरुद्धको आन्दोलन कमजोर बनाउन खोजेपनि अब अगाडि बढ्ने उहाँको भनाइ छ ।
प्रतिनिधिसभा विघटन गराउने कार्यमा नेकपाको प्रचण्ड–माधव समुहसँगै नेपाली काँग्रेसको नेतृत्व पनि दोषी रहेको कोइरालाको आरोप छ । ओलीले सर्वेसर्वा हुन प्रयत्न गरिरहँदा सबै कुरा सहदै जानु काँग्रेसको सबैभन्दा ठूलो गल्ती भएको उहाँको भनाइ छ । ‘शेरबहादुरजी ओलीजीजस्तै व्यक्तिगत स्वार्थमा लोभिनुभयो, यसैले सुरुदेखि नै खेल्नुपर्ने भूमिका काँग्रेसले खेल्न सकेन’ उहाँले भन्नुभयो ।
गलतलाई गलत नभनेर ढुलमुले चरित्र प्रदर्शन गरिरहने हो भने राजनैतिक पार्टी नै हुन नसक्ने भएकोले अब काँग्रेसले प्रष्ट रुपमा प्रतिनिधिसभा पुनस्र्थापनाको आन्दोलनमा जानुपर्ने बताउनुभयो । उहाँले ओलीले गरेका सबै संवैधानिक नियुक्तिहरु असंबैधानिक भएकोले त्यो खारेज हुनुपर्नेमा जोड दिनुभयो ।
व्यक्तिगत स्वार्थमा ढुल्मुलिँदा देश र राष्ट्रको भविष्य संकटमा पर्ने भएकोले प्रष्ट भएर प्रतिगमन विरुद्धको आन्दोलनमा नेपाली काँग्रेस लाग्नुपर्नेमा कोइरालाको जोड छ । उहाँले प्रचण्ड र माधवसँग बदला लिनको लागि वा वैशाखमा चुनाव गराउन यो प्रतिगमन नभएकै स्पष्ट पार्दै यसमा गहिरो षड्यन्त्र रहेकोले सच्याउन सबै एक भएर अगाडि बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
प्रतिगमनले संघीयता र गणतन्त्रलाई खतरामा पारेकोले अब काँग्रेसले अदालतको फैसलालाई नपर्खि प्रष्ट भएर नागरिक समाजलाई समेत साथमा लिएर आन्दोलनमा जान ढिलाई गर्नु नहुने कोइरालाले बताउनुभयो । काँग्रेस लोकतान्त्रिक पद्दतिप्रति प्रतिबद्ध भएकोले चुनावबाट नभाग्ने भन्दै उहाँले अदालतको बहानमा प्रतिगमन विरोधी आन्दोलनलाई कमजोर बनाउन भने नसकिने धारणा राख्नुभयो ।
सर्बोच्चले पुनःस्थापनको पक्षमा फैसला गर्ने आफूलाई विश्वास भएपनि दबाब अभियान भने बढाउनुपर्नेमा कोइरालाले जोड दिनुभएको छ । अब प्रतिनिधिसभा पुनःस्थापना बाहेक अर्को विकल्प नरहेकोले सर्वोच्चको निर्णय नआएसम्म सशक्त रुपले आन्दोलनमा जानुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओली र राष्ट्रपति संघीयता विरोधी भएकोले चाँडै सिडिओको अधिकार थप गर्ने अध्यादेश ल्याउन लागेको सूचना आएको उहाँले बताउनुभयो ।
दोस्रो आन्दोलनको समय स्मरण गर्दे नेता कोइरालाले आफूहरु जेलमा भएको बेला केपी ओली र विद्यादेवी भण्डारी आएर राजाको कदमको सर्मथन गर्दै कागजमा सही गरेर जेलमुक्त हुन सम्झाएको दावी कोइरालाले गर्नुभएको छध । तर, आफूहरुले नमानेको भन्दै उहाँले उनीहरुको सोच नै परिवर्तको पक्षमा नरहेकोले मुलुकमा अहिलेको संकट आएको स्पष्ट पार्नुभयो ।