प्रचण्ड–माधव निर्वाचनबाट भागेः महेश बस्नेत

विराटनगर । नेकपा ओली समुहका नेता महेश बस्नेतले निश्चित नेताहरूको महत्वकांक्षा र निजी स्वार्थ पूर्तिका लागि संसद पुर्नस्थापना गर्न दबाब सिर्जना भएको दाबी गर्नुभएको छ । उहाँले लोकतन्त्रको महत्वपूर्ण पक्ष निर्वाचन भएपनि प्रचण्ड–माधव निर्वाचनबाट भागेको आरोप लगाउनुभएको हो ।

विराटनगरस्थित नेकपाको पार्टी कार्यालय पाञ्चालीमा आज आयोजित पत्रकार सम्मेलनमा नेता बस्नेतले जनताको जनमतलाई अस्वीकार गरेर संसद पुर्नस्थापना गर्न नमिल्ने जिकिर समेत गर्नुभयो । अबको नेतृत्व आगामी चुनावले तय गर्ने बताउँदै नेता बस्नेतले काङ्गे्रस र जनता समाजवादी पार्टी चुनावका लागि तयार रहेको र आवश्यक तयारीमा जुटेको स्पष्ट पार्नुभयो । प्रचण्ड र नेपाल पक्ष मात्रै चुनावबाट पन्छिन खोजेको उहाँको भनाइ छ । नेकपा एमालेको लिगेसी, भावनासँग जोडिएको सूर्य चिन्हको आडमा पुष्पकमल दाहाल प्रचण्डले नेकपामाथि प्रहार गरेको पनि बताउनुभयो ।

नेता बस्नेतले प्रचण्डलाई सूर्यसँगको माया भन्दापनि सूर्य चिन्ह नभएसम्म जनताले हामीलाई स्विकार्दैनन् भनेर प्रचण्डले स्वीकार गरेको दाबी गर्नुभयो । नेता बस्नेतले नेकपा अब कुनै पनि हालतमा एकता हुन नसक्ने पनि जिकिर गर्नुभयो । नेकपाको माउ पार्टी केपी शर्मा ओलीको नेतृत्वमा रहेको दाबी गर्दै उहाँले भन्नुभयो, ‘माउसुलीको शरिरबाट पुच्छर चुँडिएर गएका छन्, तर, माउसुलीको नँया पुच्छर पलाउँछ, छुटेको पुच्छर केही समय चुरीफुरी गरेपनि अन्नत पुच्छर जीवित रहँदैन ।’

नेता बस्नेतले नेकपाको पार्टी शुद्धीकरणका क्रममा स्प्रे गर्दा साङ्ला र लामखुट्टेको रुपमा रहेका प्रचण्ड–माधव नेपाललगायतका नेताले छोडेर गएको नेता बस्नेतको दाबी छ । उहाँले नेकपाको पक्षमा अहिले पनि जनमत रहेकाले टुटेर फुटेर जाने प्रचण्ड र माधव नेपाल लगायतका नेताहरुको पक्षमा जनमत नरहेको पनि प्रष्ट पार्नुभयो ।

उहाँले प्रचण्ड–नेपाल नेताहरुप्रति व्यंग्य गर्दै भन्नुभयो, ‘प्रचण्ड–नेपाल समूहका नेताहरुको जनमत अहिले आलु खोजे जस्तो अवस्था छैन, सिला खोज्नु पर्ने अवस्थामा उनीहरुको जनमत छ, तसर्थ निर्वाचनमा जान प्रचण्ड नेपालहरु डराएर भागेका छन् ।’ उहाँले लोकतन्त्रमा जनताको जनमतको कदरका लागि चुनाव नै उत्तम विकल्प भएकाले लोकतन्त्र विश्वास भए प्रचण्ड र नेपाल चुनावमा लागेर विजय हासिल गरेर देखाउन चुनौति समेत दिनुभयो ।

बिहिबार, ०१ माघ, २०७७, दिउँसोको ०४:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर