प्रतिनिधिसभा विघटनविरुद्ध जुटौंः नागरिक अगुवा

विराटनगर । प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमको कारण परिवर्तन विरोधीहरू जागृत र मोर्चाबन्दीतर्फ अग्रसर हुन लागेकाले त्यसविरुद्ध एकजुट हुन दोस्रो जनआन्दोलनको अगुवाहरु देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले अपिल गर्नुभएको छ ।

आइतवार विज्ञप्ति जारी गर्दै नागरिक अगुवाद्वय पहाडी र पाण्डेले प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएकोले तत्काल प्रतिनिधि सभा सुचारु हुने व्यवस्था गर्न पनि माग गर्नुभएको छ ।

‘अमूक पार्टीको आन्तरिक किचलोलाई सम्बोधन गर्न स्वेच्छाचारी तबरले गरिएको प्रतिनिधिसभा विघटन गैरराजनीतिक, गैरसंवैधानिक, जनआकांक्षाविरोधी र मुलुकको हितविपरीत छ’ विज्ञप्तिमा भनिएको छ, ‘प्रतिगमनकै अंशको रुपमा यो कदम आएको भन्दै यो गलत कदम सच्याउँदै प्रतिनिधिसभा पुनः सुचारू हुने व्यवस्था गर्न हामी आह्वान गर्दछौं ।’ नागरिकमा बढ्दै गएको वितृष्णालाई अन्त्य गर्न प्रमुख राजनीतिक दलहरूले विगतमा गरेका गल्तीप्रति क्षमायाचना गर्दै सुशासनको प्रत्याभूति र सक्षम, सबल लोकतान्त्रिक प्रणालीको विकास तथा मुलुकको सर्वाङ्गीण उन्नतिका लागि मार्गचित्र तय गर्न प्रतिनिधिसभाभित्र र बाहिरका राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने उहाँहरुको आह्वान छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्ति र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ढुलमुले चरित्र चिन्ताको विषय भएको विज्ञप्तिमा उल्लेख छ । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको यो कृत्य प्रतिगमनका लागि औजार हुन पुगेको छ भने आफूलाई लोकतान्त्रिक मूल्य मान्यताको धरोहर दाबी गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सदाबहार ढुलमुले चरित्र थप चिन्ताको विषय भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

शान्ति र लोकतान्त्रिक विकासको सुदृढ आधार बनाएको २०६२–६३ को जनआन्दोलनका उपलब्धिमाथि जिम्मेवार कोणहरूबाट नै निरन्तर आक्रमण भइरहेको भन्दै विज्ञप्तिमा जनआन्दोलनको जनादेशअनुरूप संविधानसभाको निर्वाचन भई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि जनअपेक्षा अनुसार काम नभएको जनाइएको छ । तीनै तहको निर्वाचनपछि सर्वत्र सुशासनको अपेक्षा गरिए पनि राजनीतिक नेतृत्व त्यो अपेक्षामा खरो उत्रन नसकेको र भ्रष्टाचारका ठूला घटनाको ढाकछोप र दण्डहीनताका कारण नागरिकमा आक्रोश बढेको विज्ञप्तिमा जनाइएको छ ।

आइतबार, २६ पुष, २०७७, दिउँसोको ०२:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर