विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशता लादेर मुलुकलाई प्रतिगमनतर्फ धकेलेको भनदै त्यसविरुद्ध संयुक्त आन्दोलनमा जोड दिनुभएको छ ।
प्रतिनिधिसभा विघटन विरुद्ध पार्टीले शनिबार विराटनगरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै यादवले ओलीको नियत, चिन्तन र चरित्र नै अग्रगमनको बाटो रोक्ने भएकोले उनले निर्वाचन गर्छन् भन्ने भ्रममा नपर्न नेपाली काँग्रेसलाई आग्रह गर्नुभयो ।
‘संविधानमै नभएको अधिकार प्रयोग गरेर ओलीले आफ्नै पार्टीको बहुमत रहेको प्रतिनिधिसभा विघटन गरेका छन्’ यादवले भन्नुभयो, ‘उनले सत्ता लम्ब्याउन मात्र प्रतिनिधिसभा विघटन गरेको भएपनि उनको प्रतिगामी कदमविरुद्ध सिंगो मुलुक आन्दोलित हुनुपर्छ ।’ ओलीको कदमपछि निर्वाचनमा जाँदा आपूmहरुलाई लाभ हुने भएपछि ओलीले निर्वाचन नगर्ने र उनको कदमले परिवर्तनका एजेण्डा थप संकटमा पर्ने भएकोले संयुक्त आन्दोलन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
ओलीको प्रतिगामी र निरंकुश कदम विरुद्ध संयुक्त आन्दोलनमा सहभागी हुन नेपाली काँग्रेससहितका शक्तिहरुलाई यादवले आह्वान गर्नुभयो । ओलीको चिन्तन निरंकुश पञ्चायतको भन्दा रत्तिभर फरक नरहेको उल्लेख गर्दै उहाँले उनहाँे निर्वाचनका लागि नभएर तानाशाही, सर्वसत्तावाद, फाँसीवाद र निरंकुशता लाद्न खोजिरहेको आरोप लगाउनुभयो ।
‘संसद विघटन हुनेबित्तिकै सरकार कामचलाउ बन्छ’, उनले भने ‘तर, त्यही काम चलाउ हैसियतको सरकार धमाधम मन्त्री थप्छ। यति अनैतिक र असंवैधानिक काम गर्नेले चुनाव गराउनेभन्दा कसैले पत्याउँदैन’, यादवले भन्नुभयो ‘ओली अहिले प्रवृत्ति र चरित्रको रूपमा देखापरेको छ। यसलाई सबै मिलेर परास्त गर्नुपर्छ।’