लोड हुँदैछ...

मेनु

कुख्यात मिटरब्याजी मन्टुविरूद्ध तीन मुद्दा

कुख्यात मिटरब्याजी मन्टुविरूद्ध तीन मुद्दा

विराटनगर/  गैरकानूनी मानिएको मिटरब्याजमा लगानी गरि सर्वसाधरणलाई ‘टाट’ पल्टाउने विराटनगरका मन्टु भनिने सञ्जयप्रसाद रौनियार विरूद्ध तीन वटा मुद्दा चल्ने भएको छ ।
रौनियारविरूद्ध मोरङ प्रहरीले ठगी, अपराधिक लाभ लिएको र अपराधिक विश्वासघात मुद्दा चलाउन अनुसन्धान गरिरहेको छ । मंसिर २९ गते घरबाटै पक्राउ परेका रौनियारविरूद्ध मोरङ अदालतले पक्राउ पूर्जी सदर गरि अनुसन्धान गर्न अनुमति दिएको छ । ‘अदालतले पक्राउ पूर्जी सदर गरि तीन वटा मुद्दामा अनुसन्धान गर्न अनुमति दिएको छ,’ मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले भन्नुभयो, ‘रौनियारविरूद्ध छुट्टाछुट्टै तीन वटा मुद्दा दर्ता गरिनेछ ।’ मोरङ अदालतबाट पक्राउ पूर्जी सदर भइ अनुसन्धान गर्न बिहीबार अनुमति पाएको प्रहरीले जनाएको छ ।
अनुमति सदर भएकोले मन्टुलाई मोरङ प्रहरीले शुक्रबार मोरङ अदालतमा तीन वटा मुद्दामा म्याद थप गरि अनुसन्धान थालेको हो । यसअघि मन्टुलाई प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप प्रमाण संकलन गर्ने काम गरेको थियो । मन्टुलाई जिल्ला सरकारी वकिलका कार्यालयले ठगी र अपराधिक लाभ लिन खोजिएकोलाई एउटै र अपराधिक विश्वासघात मुद्दामा छुट्टै अनुसन्धान गर्न प्रहरीलाई राय दिएको छ । ‘मन्टु पक्राउ परेपछि पीडितको उजुरी दिन आउने मोरङ प्रहरी कार्यालयमा लर्को लागेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘धेरै दशी पनि जुटिसकेको छ । हामी सरकारी वकिलको कार्यालयले दिएको रायअनुसार यसको गहन अनुसन्धानमा जुटेका छौं ।’
प्रहरी निरीक्षक नायकको नेतृत्वको अनुसन्धान टिम
मिटरब्याजमा लगानी गरेर सर्वसाधरणलाई उठिबास लगाउने मिटरब्याजी मन्टुको अनुसन्धान गर्न मोरङ प्रहरीका प्रहरी निरीक्षक पप्पु नायकको नेतृत्वको टिम रहेको छ । सोही टिम अहिले गहन अनुसन्धानमा जुटेको छ । प्रहरीले तीन वटा मुद्दामा अनुसन्धान गरि सरकारी वकिलको कार्यालयमार्फत अदालतमा अभियोग गर्दा गरेपछि सम्पती शुद्धिकरण मुद्दामा पनि अनुसन्धान गर्ने तयारी छ । यसअघि पीडितले सम्पती शुद्धिकरण विभागमा जाहेरी दर्ता गराइसकेको हुनाले विभागले प्रहरीलाई अनुसन्धान गर्न अनुमति पाएपछि त्यसतर्फ पनि अनुसन्धान गर्नेछ । समाजमा परम्परागतरुपमा चल्दै आएको सामन्ती प्रथा अनुसार साहु महाजन बनेर एक ऋणीसँग पटक–पटक ल्याप्चे लगाएर ब्याजदेखि स्याजसम्म एकै पटक असुल्ने मन्टुले ५० करोड बढी रकम सर्वसाधरणबाट असुलेको प्रहरीको अनुस्न्धानबाट खुलेको छ । एक दशकदेखि गलत नियतले ऋण दिएर गाउँका सोझासिधा सर्वसाधरणलाई ऋणी बनाई मिटरब्याजको धन्दा चलाउने मन्टु र उनको श्रीमति ज्योति रौनियारको नाममा करडौं मूल्य बराबरको ६० कित्ता जग्गा रहेको देखिएको छ ।
हालसम्म सर्वसाधारणको ४० कित्ता जग्गा सञ्जयको नाममा देखिएको छ । श्रीमती ज्योति रौनियारको नाममा २० कित्ता जग्गा राजिनामा पास गराइसकेको खुलेको छ । गैरकानुनी ढंगले अकुत सम्पती आर्जन गरेको र मिटरब्याजमा लगानी गरि मोरङका ग्रामिण क्षेत्रका सर्वसाधरणलाई ‘टाट’ पल्टाएपछि तीन जनाले २०७७ मंसिर ७ गते रौनियार विरूद्ध सम्पती शुद्धिकरण अनुसन्धान विभागमा उजुरीसमेत दर्ता गराएका छन् । विभागमा दर्ता भएको २१३१ नम्बरको उजुरीमाअनुसार २०७० सालयता रौनियारले अदालतमा सर्वसाधारणविरुद्ध तीन सयवटा लेनदेन मुद्दा दायर गरेको उल्लेख छ । मिटर ब्याजबापत करिब ५० करोड रुपैयाँ उनले आर्जन गरेको पनि उजुरीमा उल्लेख छ । यस्तै, उजुरी अनुसार विराटनगरका विभिन्न व्यापारीलाई हालसम्म करिब ५० करोड रुपैयाँ लगानी गरेका छन् । अवैध आर्जनबापतको रकम भारत साहिरागन्ज, टावरचोक, मुजफ्फरपुरस्थित ससुरालीमा पु¥याएर लुकाएको पनि उजुरीमा उल्लेख छ । रौनियारको घरमा गैरकाुननी ढंगले आर्जन गरेको १० केजी भन्दा बढी सुन तथा ५० केजी भन्दा बढी चाँदी रहेको उजुरीमा उल्लेख छ । यस्तै विभिन्न कम्पनीमा करडौं रुपैयाँ बराबरको शेयर रकम रहेको बताइएको छ ।
मन्टुसँग ऋण लिएर साँवाभन्दा बढी पैसा तिरसक्दा पनि धितो फिर्ता नगरेको भन्दै उजुरी परेपछि मोरङ प्रहरीले उनलाई पक्राउ गरेको थियो । मन्टुलाई पक्राउ गरेपछि मोरङ प्रहरीमा उजुरी दिनेको संख्या दुई दर्जन पुगेको छ । मिटरब्याजमा लगानी गर्ने मन्टुले २ लाख रूपैयाँ ऋण दिएर ३६ लाख रूपैयाँसम्म असुली गर्ने गरेको पाइएको छ । मिटरब्याजी मन्टुबाट सय बढी सर्वसाधारण पीडितमध्येका मन्जिर हुसेनले बताउनुभयो । मन्टुसँग मोरङको धनपालथान, जहदा, रंगेली, सुनवर्षी विराटनगरका विभिन्न गाउँका वासिन्दाले वैदेशिक रोजगारीको, घरायसी समस्या वा छोरा–छोरीलाई पढाउन पैसा आवश्यक पर्दा ऋण लिने गर्थे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।