विराटनगर/ नेपाल पत्रकार महासंघ मोरङ शाखाले हाम्रोमत दैनिकका प्रधान सम्पादक बिवेक गौतम सहित पाँच जना पत्रकारहरुलाई पुरस्कारसहित सम्मान गरेको छ ।
महासंघको शुक्रबार विराटनगरमा आयोजित १३ औं साधारणसभामा उहाँहरुलाई पुरस्कृतसहित सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव समेत रहनुभएका गौतमलाई प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो ।
उहाँहरुलाई जनही २१ हजार रुपैयाँ नगद, सम्मानपत्र, र दोसल्लासहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र लगायतले उहाँहरुलाई सम्मान गर्नुभयो । यसैगरि पत्रकार हरी कोइराला पनि प्रतिभा पुरस्कारबाट परस्कृत हुनुभयो । महासंघले हरेक वर्ष प्रदान गर्दै आएको नगर विकास पत्रकारिता पुरस्कारबाट पनि दुई जना पत्रकारहरु सम्मानित हुनुभएको छ । पत्रकार बाबुराम भण्डारी र पदम सरदारलाई नगर विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । उहाँहरुलाई जनही १५ हजार राशीको पुरस्कारसहित सम्मान गरिएको हो ।
यस्तै पत्रकार कमल पौडेललाई पिताम्बर खिलेश्वरी पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । उहाँलाई ११ हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ मोरङको १३ औं साधारणसभाले पत्रकारहरुको पेशागत सुरक्षा, आर्थिक तथा सामाजिक परिवेशसँग सम्बन्धीत विभिन्न २० बुँदे घोषणापत्रसमेत पारित गरेको छ ।
साधारण सभाले पत्रकार महासंघ मोरङका सचिव अर्जुनकुमार आचार्यले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सन्तोष सिग्देलद्वारा प्रस्तुत आम्दानी खर्चको प्रतिवेदन पारित गरेको छ । साधारणसभाको उद्घाटन सत्रमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पत्रकारिता क्षेत्रको विकासका लागि सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । उहाँले स्थानीय सञ्चार माध्यमको सवलीकरणका लागि महानगरपालिका सदैव तत्पर र सकारात्मक रहेको भन्दै व्यवसायिक पत्रकारिताको विकासमा योगदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रले पत्रकारहरुमा आलोचना गर्न सक्ने क्षमताको विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले आग्रहपूर्ण आलोचना नभई तथ्यमा आधारित आलोचना गर्ने गरी पत्रकारहरुको क्षमता बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो राजनीतिक वातावरणले मुलुक असहजता तर्फ उन्मुख हुँदै गएको अनुभूति भएको भन्दै आन्दोलनका लागि तयारी अवस्थामा रहन पनि सम्पूर्ण पत्रकारहरुलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, संघीय समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादव, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जानुका बराल, महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुईटेल, पुरस्कृतहरुको तर्फबाट महासचिव विवेक गौतम लगायतले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभयो



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।