विराटनगर । विराटनगरको उत्तरी प्रवेशद्वारमा रहेको साविकको स्वागत गेट भत्काएर नयाँ बनाइने भएको छ । नयाँ स्वागत गेट बनाउन महानगरपालिकाले डिजाइन तयार गरिसकेको छ ।
छ लेन सडक परियोजनाको लम्बाइका आधारमा स्वागतद्वारको डिजाइन तयार गरिएको छ ।
अब २५ मिटर सडक क्षेत्र भित्र पर्नेगरि गेट निर्माण हुने विराटनगर महानगरपालिकाका इञ्जिनियर अर्जुन थापाले जानकारी दिनुभयो । स्वागतद्वार निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
महानगरपालिकाले गेट निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरिरहेको जनाएको छ । नयाँ बन्ने स्वागत गेटको डिजाइन यसअघिको भन्दा फरक र आकर्षक हुनेछ । स्वागत गेटको माथिल्लो भागमा अवलोकन गर्ने स्थान पनि रहनेछ ।
एक वर्षअघि विराटनगर महानगरपालिकाले स्वागतद्वार डिजाइनका लागि खुला प्रतिस्पर्धा आह्वान गरेको थियो । १४ जनाले गेटको डिजाइन पेस गरेकोमा रमन श्रेष्ठ र आशिक महर्जनले बनाएको डिजाइन छनोट गर्दै डिपिआर तयार गरिएको महानगरले जनाएको छ ।