काठमाडौं । संवैधानिक परिषद्सम्बन्धि अध्यादेश र सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दको शुक्रबार तोकिएको पेशी हेर्न नभ्याइने भन्दै सर्बोच्च अदालतले स्थगित गरेको छ ।
नेकपाको स्थायी समिति बैठकले सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको भएपनि त्यसको कार्यान्वयन भइनसकेकोले पेशी तोकिएको थियो ।
अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले दायर गरेको रिट संवैधानिक इजालसमा पेशी तोकिएको थियो । अलग–अलग रिटमाथि प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षताको इजलासमा सुनुवाई गर्न पेशि तोकिएको भएपनि नभ्याउने भन्दै पेशी स्थगित भएको हो । संवैधानिक इजलासमा सर्बोच्चका बरिष्ठ न्यायाधीशहरु क्रमशः दिपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ छन् ।
रिटमा राष्ट्रपति, प्रधानमन्त्रीसहित संवैधानिक परिषदका सदस्यहरुलाई समेत विपक्षी बनाइएको थियो ।
यसैबीच शुक्रबार नै पेशी तोकिएको सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दा पनि हेर्न नभ्याइने भन्दै स्थगित भएको छ । संवैधानिक इजालसमै पेशी तोकिएको मुद्दालाई हेर्न नभ्याइने भनी सर्वोच्चको वेवसाइटमा राखिएको छ । यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो । तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो ।
सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । १६ वैशाख २०६२ मा श्रीकृष्ण मावी, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता लामालाई खाल्डो खन्न लगाएर ज्यूँदै परेको भन्दै उनीकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् । सापकोटा विरुद्ध कणकमणि दीक्षित र सुशिल प्याकुरेलले दायर गरेको मुद्दा पनि अदालतमा छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।