इलाम । नेपाल–भारत सीमाको सुरक्षा, तस्करी र आपराधिक घटना नियन्त्रणका लागि इलामको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट थप गरिएको भएपनि व्यवस्थित नहुँदा सुरक्षाकर्मीलाई समस्या भएको छ ।
सिमा क्षेत्रको सुरक्षाको लागि बिओपी थप गरेपनि चिसो मौसम शुरु भएसँगै इलामका उच्च पहाडी क्षेत्रमा स्थापना भएका बिओपीमा रहने सुरक्षाकर्मीलाई समस्या भएको हो ।
हिमाली क्षेत्रमा भौगोलिक विकटता, पूर्वाधार अभाव, तुषारो र हिमपातबाट समस्या थपिएको हो । इलामको पशुपतिनगरसहित सलकपुर, समालवुङ, छब्बिसे, कालपोखरी र जौवारीमा बिओपी स्थापना भइसकेका छन् । मानेभञ्ज्याङमा विओपी राख्ने तयारी अन्तिम चरणमा पुगेको छ भने पाटापुर, मेघमा, गोर्खे र सन्दकपुर पनि प्रस्तावित छन् ।
स्थापना भएका र प्रस्तावितमध्ये अधिकांश ठाउँ हिउँदमा अत्याधिक चिसो हुने र बर्खाको समयमा यातायातका साधन ठप्प हुने हुँदा समस्या हुनेगरेको सहस्त्र प्रहरी निरिक्षक पशुपतिनगर इलामका नविन खतिवडाले बताउनुभयो । इलामको नेपाल–भारत सीमा क्षेत्रको साढे ५२ किलोमिटर सिमानामा ७ वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना भएका छन् ।
स्थापना भएको पोष्टमध्ये शुरुमा स्थापना भएको पशुपतिनगरमा मात्र सवारी साधन छ भने अन्य ठाउँमा सवारी साधन नहुँदा विरामी पर्दासमेत समस्या रहेको छ । पछिल्लो समय थप गरिएका बिओपी कुनै विद्यालयको भवन त कुनै गोठमा राखिएको कारण पनि चिसोको समयमा समस्या भएको हो ।
इलामले छोएको दशगजा र आसपासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का २६ बिओपी र एउटा प्रहरी चेकपोस्ट छन् । सीमा क्षेत्र सुरक्षाकै लागि भारततर्फ २÷२ किलोमिटरमा बिओपी रहेका छन् । नेपालतर्फ पशुपतिनगरमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय छ ।
छिरुवा, मानेभञ्ज्याङ र कालपोखरीमा प्रहरी चौकीमात्र रहेको कारण सिमामा समस्या हुने गरेको थियो । थप ६ वटा विओपी स्थापनाले सिमाको समस्या समाधानमा केही सहज भएपनि त्यहाँ बस्ने सुरक्षाकर्मीलाई बस्ने ठाउँको राम्रो व्यवस्थापन हुन नसकेको कारण चिसोको समयमा समस्या भोग्नुपरेको छ ।
यो समस्या सशस्त्र प्रहरीलाई मात्र नभएर यसअघि देखि नै यस क्षेत्रको सुरक्षार्थ खटिएका नेपाल प्रहरीलाई पनि छ । प्रहरीहरुलाई न्युनतम आधारभूत सुविधा नभएको कारण बास बस्नको लागि समस्या भएको छ ।

