काठमाडौं । बालुवाटारको ललितानिवास सरकारी जग्गा व्यक्तिको नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाइएको छ ।
विशेष अदालतले आज दिएको आदेश अनुसार बस्न्यातलाई अनुसन्धानका लागि थुनामा पठाइएको हो । विशेष अदालतमा आज (आइतबार) उपस्थित गराएर ४ घन्टा बयान लिएपछि न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले थुनामा पठाउने आदेश गरेको हो ।
बस्न्यातले आफ्नो क्षेत्राधिकार नहुँदासमेत भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको जग्गा मोहीका नाममा बाँड्ने प्रस्ताव मन्त्रिपरिषद्मामा लगेको आरोप थियो ।
थुनछेक बहसपछि अदालतले यो मुद्दाको अन्तिम टुङ्गो लागुन्जेल बस्न्यातलाई थुनामा राख्ने, धरौटीमा वा तारेखमा छाड्ने भन्नेबारे निर्णय दिनेछ। ललिता निवास प्रकरणमा मुद्दा चलाइएकामध्ये अहिलेसम्म अदालतमा बयान दिएका कसैलाई पनि पुर्पक्षका लागि थुनामा पठाइएको छैन।
बस्न्यात भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवसास्थित सरकारी जग्गा व्यक्तिहरूको नाममा सार्न भूमिका खेलेर नेपाल सरकारको रू. ९ करोड ६५ लाख ७६ हजार नोक्सान भएको निष्कर्ष निकालेको थियो ।
उक्त रकमलाई बिगो कायम गरी अख्तियारले त्यति नै जरीवाना र ८ देखि १० वर्षसम्मको कैद सजाय माग गरेको छ। साथै नियतवस गलत लिखत तयार पारेको भन्दै उनलाई ३ महिनादेखि १ वर्षसम्मको थप सजाय र १० हजारदेखि ५० हजार रूपैयाँसम्म जरिवाना पनि माग गरेको छ।