पियु रजिष्ट्रार प्रमिला थापाको विदाई

विराटनगर । चारवर्षे कार्यकाल समाप्त हुन लागेकी पूर्वाञ्चल विश्वविद्यालय (पियु)की रजिष्ट्रार प्रमिला थापालाई विदाई गरिएको छ । केन्द्रीय कार्यालय गोठगाउँमा आज आयोजित कार्यक्रममा रजिष्ट्रार थापाको विदाई गरिएको हो ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला, पदाधिकारी र कर्मचारीहरूले निवर्तमान हुन लागेकी रजिष्ट्रार थापालाई दोसल्ला, खादा, माला र अविरका साथ विदाई गरेका हुन् । थापाको कार्यकाल आगामि मंगलबार समाप्त हुँदैछ ।

उपकुलपति कोइरालालले रजिष्ट्रार थापाको कार्यकाल सफल रहेको बताउनु भयो । कोरोना भाइरस महामारीका कारण धेरै कुरामा रजिष्ट्रार थापाको अनुभव साटासाटका साथै सोचेअनुसारको परिणाम देखिने गरी कार्य समेत गर्न नपाएको कोइरालाको भनाइ थियो ।

कार्यक्रममा चिकित्साशास्त्र संकाय डीन डा. शैलेषमणि पोखरेल, परीक्षा नियन्त्रक प्राडा सूर्यप्रसाद संग्रौला, सह–रजिष्ट्रार राजेशकुमार झा, प्राध्यापक संघका महासचिव भूपेन्द्र बाह्रकोटी, कर्मचारी संघका सभापति राजकुमार सापकोटालगायतले रजिष्ट्रार थापाको कार्यकालमा भएका महत्वपूर्ण काम र योगदानबारे चर्चा गरे ।

विदाई हुन लागेकी रजिष्ट्रार थापाले भने सबैको सहयोगका कारण आफ्नो चारवर्षे कार्यकाल सफल भएको बताउनु भयो । थापाले चारवर्षसम्म प्रशासनिक र आर्थिक नेतृत्व गर्नुभएको थियो ।

चिकित्साशास्त्र संकायमा दुईवर्षे कार्यकालको सह–डीन पदमा विश्वविद्यालय प्रवेश गर्नुभएकी रजिष्ट्रार थापा सोही पदको दोस्रो कार्यकालमा कार्यरत रहेकै बखत रजिष्ट्रारको जिम्मेवारी पाउनु भएको थियो । सह–डीनमा कार्यरत रहँदा उहाँले गोठगाउँमा बीएस्सी नर्सिङ लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्नुभएको थियो । रजिष्ट्रारको जिम्मेवारी सम्हालेलगत्तै विश्वविद्यालयमा लामो समयदेखि रोकिएको वृत्तिविकासको प्रक्रियाले गति लिएकाले रजिष्ट्रार थापाको कार्यकाल पूर्णरूपमा सफल रहेको शिक्षक, कर्मचारीहरू बताउँछन् ।

आइतबार, २८ मंसिर, २०७७, साँझको ०७:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर