विराटनगर । पोखरेली पर्यटन व्यावसायीहरुले पोखरा भ्रमणका लागि पूर्वेलीहरुलाई निम्ता गरेका छन् ।
शुक्रबार विराटनगरमा आन्तरिक पर्यटन पुनःउत्थान तथा प्रर्वद्धन अभियान बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रमका आयोजना गरेर पोखरा घुम्न आउन निम्ता गरेका हुन् । कोरोना महामारीका कारण लामो समयदेखि सिथिल अवस्थामा रहेको पर्यटन क्षेत्रलाई पहिलेकै गतिमा चलायमान गराउन ‘जाउँ है पोखरा–२०७७’ अभियान सुरु गरेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।
विगतका वर्षहरुमा भारतीय बजारमा ‘चलिए पोखरा’ र अन्तर्राष्ट्रिय बजारमा ‘पोखरा प्युर एण्ड पर्फेक्ट’ भन्ने नारासहित यस्तै अभियान चलाएको पर्यटन व्यवसायीहरुले यसपटक आन्तरिक पर्यटन प्रवद्र्धन गरी सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउने प्रयास गरिरहेको छ ।
आन्तरिक पर्यटन प्रर्वद्धनका माध्यमबाट मात्रै दिगो पर्यटन विकास सम्भव भएकाले यस किसिमको अभियानको सुरुवात गरेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताउनुभयो । आन्तरिक पर्यटनमा गति ल्याउन पर्यटन पुर्वाधार निमार्णका कार्यहरुमा सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको भनाई थियो । हवाई सेवा प्रदायकहरुले पनि भ्रमणका आर्कषक प्याकेजहरु अगाडि सारेर आन्तरिक पर्यटन प्रवद्र्धनको प्रयास गरिरहेको तुलाचनले बताउनुभयो ।
पोखरेली होटलकर्मीहरुले १८ वर्ष अघिबाट सुरु गरेको जाउँ है पोखरा अभियान पटक पटक सम्भावित बजारमा पुर्याईसकेका छन् । यही अभियान र अन्य क्षेत्रको दवावले पनि सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनमा चासो देखाउन थालेको व्यवसायीहरुले बताएका छन् । यद्यपि पुर्वमा पर्यटन क्षेत्रले खासै विकास गर्न नसकेको विराटनगर ट्राभल्स एण्ड टुर्स एशोसिएशनका सचिव भागवत नेपालले बताउनुभयो । उहाँले पुर्वका पर्यटकीय गन्तव्यहरुमा पनि आन्तरिक पर्यटक भित्र्याउन पश्चिमका पर्यटन प्याकेजहरुलाई पुर्वमा विस्तार गर्न आग्रह गर्नुभयो ।
थलिएको पर्यटन क्षेत्रलाई पुनः माथि उठाउन पोखराका पर्यटन व्यावसायीहरुले पोखरा भ्रमणमा छुट र आर्कषक पर्यटन प्याकेजहरु अगाडि सारेको बताएका छन् । सामान्य अवस्थाको तुलनामा कम भीडभाड भएकोले पर्यटकीय गन्तव्यहरुको भ्रमण तथा अवलोकनका लागि अहिले उपयुक्त समय रहेको व्यवसायीहरुले बताए ।
आन्तरिक पर्यटन सँगसँगै बाह्य पर्यटन प्रवद्र्धन गर्न बन्द रहेका सीमा नाकाहरु खोल्नु पर्ने नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएशनका प्रदेश १ का वरिष्ठ उपाध्यक्ष पुण्य भट्टराईले बताउनुभयो ।
नेपालबाट वर्षेनि साढे १३ लाख नेपाली आन्तरिक पर्यटकहरु विदेश जाने गरेका छन् । तर अहिले विदेश जाने अवस्था नरहेको हुँदा मात्र ७५ प्रतिशत आन्तरिक पर्यटकहरु परिचालन गर्ने तर्फ योजना बनाउनु पर्ने आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश १ का असंयोजक भविस श्रेष्ठले जानकारी दिनुभयो । पोखरामा हरेक वर्ष १० लाख आन्तरिक र बाह्य पर्यटकले भ्रमण गर्ने गरेको भएपनि कोरोना महामारी पछि पर्यटन क्षेत्र सुस्ताएको जानकारी उहाँको भनाई छ ।
पोखरामा भने ३० हजार बेड क्षमता भएको सयौं होटेलहरु छन् । जसमा ३ अर्बभन्दा बढी लगानी रहेको व्यवसायीहरुले बताएका छन् ।