विराटनगर । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपाका कार्यकर्ताले सुराकीको आरोपमा हत्या गरेका शिक्षक राजेन्द्र श्रेष्ठको शव पोष्टमार्टमको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
मंगलबार मोरङको मिक्लाजुङ १ रमितेखोलास्थित बर्खे गाउँमा घरबाटै अपहरणमा परेका श्रेष्ठको केहि समयपछि हत्या भएको थियो ।
अपहरणपछि घरबाट करिब एक किलोमिटर दुरीमा रहेको जंगलमा लगेर दुबै हात पछाडी बाँधेर शिक्षक श्रेष्ठको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । मृतकको शव पोष्टमार्टमका लागि धरान पठाइएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।
मंगलबार साँझ नै विप्लब समूहको नेकपाको मेची–कोशी व्युरो इञ्चार्ज प्रतापले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिएका छन् । पार्टीविरुद्ध सुराकी गरेको आरोप लगाउँदै सम्झाउन जाने क्रममा हतियार लिएर आइलागेकाले घटना भएको उनको दाबी छ ।
स्थानीयले हतियारसहित आएका चार जनाले शिक्षक श्रेष्ठलाई लगेको देखेको बताएका छन् । उनको शव हात बाँधेर घाँटी रेटेको अवस्थामा भेटिएकोले हतियारले श्रेष्ठले आक्रमण गरे भन्ने सो समूहको दावी झुटो भएको स्पष्ट देखिन्छ ।
मंगलबार विहान करिब ७ बजेतिर घटना भएको विकट घटनास्थलमा प्रहरी टोली दिउसो मात्र पुगेको थियो । घटनास्थल पुगेर मोरङ प्रहरीले मुचुल्का उठाएर ५४ वर्षीय श्रेष्ठको शव पोष्र्टमार्टमको लागि पठाएको हो ।
मोरङ प्रहरीका डिएसपी मानबहादुर राईको नेतृत्वमा घटनाको ६ घण्टापछि २ बजेतिर प्रहरी टोली घटनास्थलमा पुगेको थियो । यस्तै एसपी सन्तोष खड्का नेतृत्वको अर्को टोली र प्रदेश प्रहरी कार्यालयको टोली पनि घटनास्थलमा गएको छ ।
श्रेष्ठको हत्यापछि स्थानीयलाई तर्साउन सो समूहले हवाइफायर गरेको अनुमान गरिएको छ । यसअघि स्थानीयले गोली चलेको आवाज सुनेको आधारमा शिक्षकको हत्या गोली प्रहारबाट भएको जानकारी प्रहरीलाई दिएका थिए ।
अपहरण गरेको एक घण्टाभित्रै श्रेष्ठको हत्या भएको प्रराम्भिक चरणको अुसन्धानले देखाएको घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतले बताए । ‘४÷५ जनाको समूहमा आएका व्यक्तिले शिक्षक श्रेष्ठलाई घरदेखि लिएर जंगलतिर लिएर गए,’ प्रत्यक्षदर्शीले प्रहीलाई दिएको बयान उदृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘घरदेखि उठाएर लगेको एक घण्टापछि ८ देखि साढे ८ बजेको बिचमा रक्ताम्मे अवस्थामा शव देखियो ।’
मिक्लाजुङ पाँचथर, इलाम र धनकुटाको सिमानामा पर्ने मोरङको विकट पहाडी क्षेत्र हो । त्यहाँ विप्लव समूहले पहिलेदेखि नै गतिविधि बढाएका थियो । यसअघि सो क्षेत्रबाट प्रहरीले २ जना कार्यकर्तालाई पक्राउ गरेको थियो ।
मिक्लाजुङमा विप्लव समूहको सैन्य गितिविधि तीव्र भएको सूचनापछि प्रहरीले गत कात्तिक १२ गते दुई जनालाई हतियारसहित पक्राउ गरेको थियो । प्रहरीले चुलाचुली गाउँपालिका–६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरीको सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतीक भनिने काँशीनाथ घिमिरेलाई पक्राउ गरेकोमा उनीहरुलाई पक्राउ गर्न सहयोग गरेको आरोपमा श्रेष्ठको हत्या गरेको प्रहरी स्रोतको भनाइ छ ।
शिक्षकको हत्यापछि गाउँ नै शोकमा
अगुवा कृषक र समाजसेवीको पहिचान बनाएका स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको घरबाट अपहरण गरि हत्या गरेपछि गाउँ नै शोकमा डुबेको छ । घरबाट अपहरण भएपछि खोज्दै जाँदा स्थानीयले जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेको छिमेकी मदन श्रेष्ठले जानकारी दिनुभयो ।
मंगलबार विहानै राजेन्द्रले मदनको घरमा रहेको पसलमा आएर रिचार्ज कार्ड किनेर फर्किएका थिए । त्यसको केहि समयपछि उनको अपहरण भएकोमा करिब एक घण्टापछि गाउँलेले घरनजिकैको जंगलमा विभत्स अवस्थामा शव भेटेका थिए । ‘उहाँलाई रिचार्ज कार्ड दिएपछि म गाईबस्तु सार्न थालेँ,’ मदनले भन्नुभयो, ‘त्यतिबेला अज्ञात समूहले लगेको जानकारी आएपछि ४–५ जना भेला भएर खोज्न गयौं ।’ जंगलमा जाँदा विभत्स अवस्थामा शव भेटिएपछि गाउँ नै शोकमा डुबेको उहाँको भनाइ छ ।
स्थानीयका अनुसार सामाजिक अगुवाको परिचय बनाएका श्रेष्ठ मिलनसार र सहयोगी थिए । उनी सक्रिय राजनीतिक गतिबिधिमा पनि थिएनन् ।
मिक्लाजुङ गाउँपालिका–१ का वडाअध्यक्ष नरबहादुर राईका अनुसार मंगलबार बिहान घरबाटै शिक्षकलाई अज्ञात समूहले लिएर गएका थिए । सामाजिक काममा सक्रिय रहने श्रेष्ठको हत्याले गाउँलेलाई स्तब्ध र त्रसित बनाएको छ । सुरक्षा र सञ्चारको पहुँचबाट टाढा रहेको सो क्षेत्रका बासिन्दा भयभित देखिन्छन् ।
शिक्षक श्रेष्ठको हत्यापछि एकीकृत अखिल नेपाल शिक्षक संगठन मिक्लाजुङले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले शिक्षकको हत्या आरोपीको खोजी र घटनाको अनुसन्धानको लागि चार जिल्लाको प्रहरी टोली परिचालन भएको जानकारी दिनुभयो ।
सुरक्षा स्रोतका अनुसार विज्ञप्ति जारी गरेर घटनाको जिम्मा लिनुअघि नै उक्त समूहले आफ्नाविरुद्ध सुराकी गरेकाले तह लगाएको सन्देश दिएको थियो । घटनामा उसको संलग्नता पुष्टि भएपछि प्रतिबन्धित पार्टी वा समूहले आफ्नो गतिविधिलाई अर्को अर्थात् दोस्रो चरणमा लैजान खोजेको संकेत मिलेको छ ।