विभिन्न नाममा वन क्षेत्र अतिक्रमण

विराटनगर । प्रदेश र स्थानीय सरकारले राष्ट्रिय वन अतिक्रमण हुन नदिने नीति बनाएको भएपनि मोरङमा धार्मिक स्थलका नाममा वन अतिक्रमण रोकिएको छैन ।

पूर्व–पश्चिम राजमार्ग आसपासका वन क्षेत्रमा सुकुम्बासी, सिमसार, धार्मिक मठमन्दिर, जातीय संघसंस्था, सामुदायिक भवन, खेलमैदान, सट्टाभर्ना, पुनर्वास, भुटानी शरणार्थी शिविर लगायतका नाममा वन अतिक्रमण भएको छ ।

मोरङको पूर्वपश्चिम राजमार्ग आसपासको सरकारी जङ्गल अतिक्रमण गरेर ५ दर्जनभन्दा बढी धार्मिक वन स्थापना गरिएको छ । जसमध्ये मात्र १ दर्जन डिभिजन वन कार्यालयमा दर्ता भएका छन् ।

जिल्लाको कुल ४४ हजार हेक्टर वन क्षेत्रमध्ये ५ सय ८२ हेक्टर अतिक्रमणमा परेको र त्यसमा १ हजारभन्दा बढी घरपरिवार बसेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाएको छ । मोरङमा वि.सं. २०६२÷६३ पछि १२ वटा जातीय संस्थाले ४४ हेक्टर सामुदायिक र राष्ट्रिय वन अतिक्रमण गरेर ठुल्ठूला संरचना बनाउनुका साथै धार्मिक वन दर्ता गरेका छन् ।

मोरङमा १३४ वटा सामुदायिक वन छन्, जसले कुल २० हजार ५ सय २८ हेक्टर क्षेत्र ओगटेको डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरले जानकारी दिनुभयो । वन क्षेत्रभित्र अहिले ११ वटा खेलमैदानसमेत बनेको छ । जोगाउने पहल नहुँदा जातीय संस्थाहरुले वन कब्जा गरेर विभिन्न संरचना ठड्याउने क्रम पनि बढको ठाकुरको भनाइ छ ।

राजमार्गको बेलबारी–उर्लाबारी २५ किलोमिटर खण्डको दक्षिणतर्फ वन मासिने क्रम नरोकिएको बेलबारी चिसाङ साझेदारी वन समितिका संयोजक दिनेश गिरीले बताउनुभयो । जिल्लाको सामुदायिक वनमा धार्मिक वन क्षेत्र बढेको भन्दै उहाँले अब एक्लो प्रयासले वन जोगाउन सक्ने अवस्था नरहेको जिकिर गर्नुभयो ।

पूर्वपश्चिम राजमार्ग आसपासका वन बाहेक अन्य कुन वन क्षेत्रमा कसले, कहिले, कति अतिक्रमण गरेको छ भन्ने यकिन तथ्याङ्क डिभिजन वन कार्यालयसँग छैन । यसको वास्तविक तथ्याङ्क खोज्नसमेत कठिन रहेको कार्यालयले जनाएको छ ।

शुक्रबार, १९ मंसिर, २०७७, बिहानको ०८:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर