हत्या आरोपी विराटनगरका वडाध्यक्ष धरौटीमा रिहा

विराटनगर । हत्या आरोप लागेपछि डेढ वर्षदेखि फरार रहेका विराटनगर महानगरपालिकाका १४ का वडाअध्यक्ष बलदेव यादवलाई उपस्थित भएकै दिन मोरङ अदालतले तीन लाख रुपैयाँ धरौटीमा छाडेको छ ।

२०७६ जेठ ३२ गते विराटनगर–१४ का ५५ वर्षीय सेमानन्द यादवमाथि कुटपिट भएकोमा असार २६ गते उनको मृत्यु भएपछि फरार रहेका वडाध्यक्ष यादवलाई जिल्ला अदालत मोरङका न्यायाधीश तेजबहादुर खड्काको इजलासले बिहीबार धरौटीमा छोड्न आदेश दिएको हो ।

हत्या आरोप लागेपछि १ वर्ष ५ महिना फरार भएका वडाध्यक्ष यादव बिहीबार अदालतमा हाजिर भएका थिए । ‘कर्तब्य ज्यान मुद्दाका’ प्रतिवादी उनलाई अदालतले धरौटीमा छोड्न आदेश दिएसँगै उनी ३ लाख रुपैयाँ जम्मा गरेर रिहा भएका छन् ।

घटनापछि यादवसहितका आरोपीलाई खोजी गर्न प्रहरीको टोली भारतसम्म पुगेपनि उनीहरु फेला परेका थिएनन् । सोहि मुद्दाका आरोपी विराटनगर–१८ का वडा अध्यक्ष सञ्जय साह र गत माघ २४ गते अदालतमा हाजिर भएका जहदा गाउँपालिका–१ का वडा अध्यक्ष प्रदीपचन्द्र यादवलाई भने जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाएको थियो । उनीहरुमध्ये यादवलाई उच्च अदालतले धरौटीमा छाडेको छ भने साह जेलमै छन् ।

एउटै प्रकृतिको आरोप लागेका विराटनगर १४ का वडाध्यक्ष यादवलाई भने अदालतमा उपस्थित भएकै दिन भएको थुनछेक बहसपछि धरौटीमा छोड्न आदेश भएको मोरङ जिल्ला अदालतका श्रेस्तेदार राजकुमार दाहालले हाम्रोमतलाई जानकारी दिनुभयो । रिहा भएपछि उनका समर्थक र आफन्तले उनलाई अविरमाला लगाईदिएका थिए ।

विवाहको विषयमा विवाद हुँदा ३२ जेठ २०७६ मा विराटनगर– १४ का वडा अध्यक्ष यादवको घरमा बसेको पञ्चायतीले विराटनगर–१४ का ५५ वर्षीय सेमानन्द यादवमाथि निर्घात कुटपिट गरेको थियो । कुटपिटबाट घाइते यादवको एक महिनापछि २६ असार २०७६ मा कोशी अस्पतालमा मृत्यु भएको थियो ।

मृतक परिवारले घटनामा संलग्न भएको आरोपमा तीन जना वडा अध्यक्षसहित १० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी परेका तीन जनप्रतिनिधिमध्ये २ जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएकोमा पञ्चायती राख्ने वडाध्यक्षलाई भने धरौटीमा छाडेको हो ।

सेमानन्द हत्या प्रकरणमा जहदा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रदीप यादव, विराटनगर महानगरपालिका १८ का वडा अध्यक्ष सञ्जय साह, विराटनगर– १४ का अध्यक्ष बलदेव यादव, बलदेवका छोरा रविन, भतिज दीपेश, छिमेकी विन्देश्वर यादव, शम्भुप्रसाद यादव, भोलु यादव, विरेश यादव, दिनेशप्रसाद यादवविरुद्ध किटानी जाहेरी परेको थियो । समानन्दका छोराको विवाहको विषयमा विवाद हुँदा वडाअध्यक्ष यादवको घरमा भेला भएको पञ्चायतीले समानन्दमाथि कुटपिट गरेको थियो ।

बिहिबार, ११ मंसिर, २०७७, रातीको ०८:१३ बजे

प्रतिक्रिया

  1. भ्रस्टाचारले भरिएका यो देशमा अदालत पनि अछुतो रहन सकेन हाजिर भएकै दिन धरौटीमा छोडन मिल्छ र ? साथै गरीब निमुखा जनताहरुको एउटै आस्थाको केन्द्र अदालतमा पनि बिश्वास गर्न नसकिदो रहेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर