लोड हुँदैछ...

मेनु

युरोपको भिषा त्यागेर ड्रागन खेती

युरोपको भिषा त्यागेर ड्रागन खेती

बेलबारी । मोरङको बेलबारी ८ का तारा सापकोटा १३ लाख रुपैयाँ खर्चेर नर्वे जानका लागि तयारी अवस्थामा थिए । उनको भिषासमेत लागिसकेको थियो ।

एजेन्टले भनेअनुसार ऋण खाजेर पैसा ठिक्क पारेका साकोटाले बेलबारी नगरपालिकाले नगरसभाबाट कृषिलाई प्राथमिकतामा राखेर बजेट बनाएपछि नर्वे जाने योजना त्यागे ।

‘मैले नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई भेटेर ड्रागन फुडको खेति गर्ने योजना सुनाए’ उहाँले भन्नुभयो, ‘उहाँहरुले मलाई हौसला दिँदै १० कठ्ठा जमिनमा खेति गर्नुहोस्, नगरपालिकाले सहयोग गर्छ भनेपछि यतातिर लागें ।’ ड्रागन खेति गर्ने सापकोटा बेलबारीका पहिलो कृषक हुन् ।

सापकोटाले बैदेशिक रोजगारीमा जानका लािग तयार गरेको १३ लाख रुपैयाँ ड्रागन खेतिमा नै लगानी गरेका छन् । आइतबार बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले सापकोटाले सुरु गरेको ड्रागन फुडका विरुवा रोप्नुभयो । विरुवा रोप्दै मेयर सुवेदीले आफ्नै माटोमा पसिना बगाउँछौ, केहि गर्छौ भन्नेलाई सहयोग गर्न नगरपालिका तयार भएको बताउनुभयो ।

कृषिलाई नै लक्षित गरेर नगरपालिकाले बिनाधितो सहुलियत कर्जा बापत २ प्रतिशत ब्याजदरमा समूहमा खेति गर्नेहरुलाई ५ लाख ऋणसमेत दिने कार्यक्रम अगाडि बढाएको छ । जसका लागि बेलबारीमा रहेका बैकसँग नगरपालिकाले सहकार्य गरेको छ । जसवाट २० करोड भन्दा बढि पैसा कृषकसम्म पुग्ने आँकलन गरिएको छ ।

नगरपालिकाले युवाहरुलाई नै उद्यमी बनाउने उद्देश्यले गरिबसँग नगरपालिका कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । चालु आवमा पावर टिलर, मकै थ्रेसर, मिनि टिलर, ड्रागन फुड खेति तथा गोलासहितको माहुरीको घार बितरण गर्ने कार्यक्रम समेत अगाडि बढाइएको प्रमुख प्रशासकयि अधिकृत प्रदिप शाहले बताउनुभयो ।

नगरपालिकाकाका प्रत्येक वडाले ५ लाख रुपैयाँ मूल्य बराबारको फलफुलको बिरुवा कृषकलाई बितरण गर्नेगरी नगरसभाबाट कार्यक्रम पास भएको छ । बेलबारीमा ११ वटा वडा रहेका छन् । नगरपालिकाले एक वडा एक उत्पादनको कार्यक्रमसमेत अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।