विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–५ की एक महिलाको हत्या रहस्यमयी बन्दै गएको छ ।
सुस्त मनोस्थिति भएको ३० बर्षीय सीता कुमारी चौधरीको हत्या रहस्यमयी बन्दै गएको हो । गत कार्त्तिक ९ गते बर्जु-०५ स्थित आफ्नो माईती घरदेखि करिब १ सय मिटर उत्तर ग्रामथान मन्दिरको चौरमा सीता चौधरी शव फेला परेको थियो । मृत्त अवस्थामा भेटिएकी उनको अनुहार र टाउकोमा गहिरो चोटपटक लागेको थियो । रगत लत्पत्तिएको अवस्थामा मृत्त अवस्थामा फेला परेकी उनको हत्या भएको हुनसक्ने स्थानीयले आशङका गरेका छन् । मृत्तकका आफन्तले घटनाको निष्पक्ष छानबिन गरि दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन ।
यस्तो थियो घटना
सुनसरीको बर्जु गाउँपालिका वडा नं. ५ स्थित बहुसंख्यक चौधरी समुदायको बसोबास छ । मृत्तक सीता चौधरीको माईती घर पनि त्यहीँ हो । उनी केही समययता आफ्नै घरमा बस्दै आएकी थिईन । पाँच बर्षअघि सीताको बर्जु गाउँपालिकाका सञ्जित चौधरीसँग मागी विवाह भएको थियो । उनको ४ बर्ष र १ महिनाको दुई छोरी पनि रहेकी छन् । विवाह भएलगत्तै सीताले मानसिक सन्तुलन गुमाएको स्थानीय झल्लु चौधरीले बताउनुभयो ।
सुस्त मनोस्थिति भएको उनी कार्तिक ८ गते साँझदेखि घरबाटै बेपत्ता भईन । राती अबेरसम्म खोज्दा पनि कतै नभेटिएकी सीता भोलिपल्ट बिहान आफ्नै घर छेउ मृत अवस्थामा फेला परेकी हुन ।
दोषीलाई कारबाहीको माग
यता सीताको शव भेटिएको एक साता बितिसक्दा पनि प्रहरीले अहिलेसम्म घटनामा संलग्नलाई पक्राउ गर्नसकेको छैन । मृतकका आफन्त र स्थानिय जनप्रतिनिधीहरूले सीताको हत्या भएकोले सुक्ष्म अनुसन्धान गरि दोषीलाई कारबाहीको दायरमा ल्याउन माग गरेका छन् । बर्जु गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष किशोर कुमार चौधरीले शरिरमा निलडाम र अनुहारमा गहिरो चोटपटक देखिएकाले हत्या भएको हुनसक्ने भन्दै निष्पक्ष छानबिन गरि घटनामा संलग्नलाई हदै सम्मको कारबाही गरिनुपर्ने माग राखेका छन ।
यता जिल्ला प्रहरी कार्यालय सुनसरीका डि.एस.पी नरेन्द्र कुमार कार्कीले भने घटनाको तीव्र अनुसन्धान भईरहेको र दोषीलाई चाँडै नै कानुनी दायरमा ल्याउने जानकारी दिनुभएको छ ।