विराटनगरमा १२ घण्टामा ७ संक्रमितको मृत्यु

विराटनगर । विराटनगरमा सोमबार साझदेखि मंगलबार विहानसम्म ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचार गराइरहेका ५ महिला र २ पुरुषको मृत्यु भएको हो ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३ जना, विराट नर्सिङ होममा १ जना, न्युरोमा १ जना, विराट मेडिकल कलेजमा १ जना र नोबेल मेडिकल कलेजमा १ जनाको मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवतीको मंगलबार बिहान ५ः३० बजेतिर कोशी कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ । आइतबार कोरोना पोजेपटिभ देखिएकी उनलाई सोही दिन उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

विराटनगर महानगरपालिका–१२ की ६४ वर्षीया वृद्धा महिलाको कोशीमै बिहान ४ः४५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई सोमबार उपचारका लागि भर्ना गरिएको थियो ।

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ३८ वर्षीय पुरुषको सोमबार साँझ ६ः३० बजेतिर कोशी कोभिडमै मृत्यु भएको थियो । कोरोना पोजेटिभ देखिएपछि घरमै होम आइसोलेसनमा रहेको उनलाई श्वासप्रश्वासमा समस्या भएपछि सोमबार दिउँसो पुरुषलाई कोभिड अस्पताल ल्याइएको थियो ।

विराटनगरकै न्युरो अस्पतालमा उपचाररत विराटनगर–१० की ६४ वर्षीया वृद्धाको बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिनुभयो । असोज १५ गते कोरोना पुष्टि भएकी उनलाई असोज २४ न्युुरोको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

त्यस्तै विराटनगर महानगरपालिका–७ की ६९ वर्षीया वृद्धा महिलाको नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । उपचारका क्रममा बिहान ८ बजेतिर उनको ज्यान गएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । उनमा असोज २६ गते पीसीआर रिपोर्ट पोजेटिभ आएकोमा शनिबार अस्पताल भर्ना गरिएको थियो ।

मोरङको रंगेली नगरपालिका–३ का ८५ वर्षीय वृद्ध पुरुषको उपचारका विराट नर्सिङ होममा मृत्यु भएको छ । असोज २८ गते कोरोना पोजेटिभ देखिएका उनलाई ज्वरो र श्वासप्रश्वासको समस्या बढेपछि अस्पताल भर्ना गरिएकोमा सोमबार राति १२ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा झापाको विर्तामोड ४ की ७६ वर्षीया संक्रमित वृद्ध महिलाको मंगलबार बिहान ८ः५० बजेतिर मृत्यु भएको छ । अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार पुष्टि भएपछि निमोनियाको समस्या रहेकी वृद्धालाई उपचारका लागि असोज ३० गते अस्पतालमा भर्ना गरिएको थियो ।

विराटनगरको कोशी अस्पतालमा सोमबार राति रतुवामाई नगरपालिका–४ का ४० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको भने पिसिआर परीक्षणको रिपोर्ट आइसकेको छैन ।

मङ्गलबार, ०४ कार्तिक, २०७७, दिउँसोको ०१:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर