विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप तीन जना संक्रमितको मृत्यु भएको छ ।
धरान–३ का ७२ वर्षीय, धरान–१७ का ६८ वर्षीय र इटहरी उपमहानगरका ५६ वर्षीय पुरुषको सोमबार नै मृत्यु भएको भएपनि प्रतिष्ठानले मंगलबार मात्र सार्वजनिक गरेको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार ७२ वर्षीय पुरुषको असोज २९ गते पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएको थियो । कोभिड अस्पतालमा बेड अभाव भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । श्वासप्रश्वासमा जटिलता देखिएपछि उनलाई कात्तिक ३ गते कोभिड अस्पताल भर्ना गरिएको थियो ।
यसैगरी उच्च रक्तचापको समस्या रहेका धरान–१७ का ६८ वर्षीय पुरुषमा असोज २८ गते कोरोना पोजिटिभ देखिएको थियो । उनलाई कात्तिक ३ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
इटहरीका पुरुषलाई कात्तिक १ गते कोरोना पुष्टि भएपनि अस्पतालमा बेड अभावले होम आइसोलेसनमा बसेका थिए । त्यही क्रममा उनलाई श्वासप्रश्वासमा जटिलता देखिएपछि ३ गते नै भर्ना गरिएको थियो ।
मंगलबार धरानमा थप २ सय ८५ जना संक्रमित थपिएका छन् । तीन दिनअघि स्वाब संकलन गरेर प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पठाइएका नमुना परीक्षण गर्दा ती व्यक्तिमा संक्रमण देखिएको हो ।

