विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रलाई एक थान भेन्टिलेटर र प्रदेश जनस्वास्थ्य ल्याबलाई अटोमेटिक आरएनए एक्स्ट्राक्सन मेसिन हस्तान्तरण गरिएको छ ।
विराटनगर महानगरपालिको पहल र युएनडीपीको सहयोगमा सोमबार कोभिड उपचार केन्द्रलाई भेन्टिलेर र ल्याबलाई आरएनए एक्स्ट्राक्सन मेसिन हन्तारण गरिएको हो ।
प्रदेशमा लक्षणसहितको कोरोना संक्रमित दैनिकजसो बढिरहेको बेला विरामीले भेन्टिलेटर नपाइ मृत्युवरण गर्दै आएका छन् । अहिले प्रदेशका कोभिड अस्पताल र निजी अस्पतालहरूको आइसियू र भेन्टिलेटरमा विरामी भरिभराउ रहेको बेला युएनडीपीले भेन्टिलेटर प्रदान गरेको विराटनगर महानगरपालिका प्रमुख भिम पाराजुलीले जानकारी दिनुभयो ।
युएनडिपीले विराटनगरस्थित प्रदेश जनस्वास्थ्य ल्याबलाई पनि कोरोना परिक्षण गरिने अटोमेटिक आरएनए एक्स्ट्राक्सन मेसिन हस्तान्तरण गरेको छ । कोरोना परीक्षणको रिपोर्ट आउन एक साता लाग्ने गरेकोमा नयाँ मेसिन सञ्चालनमा आएपछि सहज हुने अपेक्षा गरिएको छ ।
युएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । ती सामाग्री युएनडीपीका प्रदेश १ र २ का कार्यालय प्रमुुख धनवहादुुर चन्दले हस्तान्तरण गर्नुभएको हो ।
कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा हाल ५ वटा भेन्टिलेटर र ७ वटा आइसियु रहेको छ । सञ्चालनमा आएको भेन्टिेलर र आइसीयूमा विरामी भरिभराउ छन् । केन्द्रमा ६४ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
कोभिडमा १० भेन्टिलेटर थप हुने
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले लक्षणसहितको संक्रमित बढ्दै गएकोले साझेदारी सस्थाको पहलमा भेन्टिलेटर र अक्सिजनसहितको अस्पताल बढाउन प्रदेश सरकार लागिपरेको बताउनुभएको छ । कोभिड उपचार केन्द्रमा थप १० वटा भेन्टिलेट थप गर्न प्रदेश सरकारले पहल गरिरहेको उहाँको भनाइ छ ।
यस्तै धरानस्थित बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा पनि २ सय बेडको अक्सिजन बेड विस्तार गरिने तयारी प्रदेश सरकारले गरेको मन्त्री घिमिरेले जानकारी दिनुभयो । संक्रमण दर प्रतिदिन बढ्दै गएकोले प्रत्येक निजी अस्पतालले ५० प्रतिशत बेड कोभिडका विरामीलाई छुट्याउनुपर्ने मन्त्री घिमिरेले बताउनुभयो ।