प्रदेश १ मा एकैदिन ८ संक्रमितको मृत्यु

विराटनगर । विराटनगरमा कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा अस्पताल सञ्चालकसहित थप आठ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा नोबेल मेडिकल कलेज विराटनगमा २ जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा १ जना, न्यूरो अस्पतालको कोभिड–१९ अस्पतालमा १ जना, बीपी कोभिड अस्पतालमा १ जना र होम आइसोलेसनमा धरानका २ जना तथा बराहक्षेत्रका १ जनाको मृत्यु भएको हो ।

न्युरो अस्पतालको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको सोमबार बिहान ३ बजे मृत्यु भएको हो । अस्पतालका फोकल पर्सन अजित बस्नेतका अनुसार मृतक पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रा.लि.का सञ्चालक हुन् । उनलाई असोज २२ गते कोरोना देखिएको थियो ।

रिपोर्ट पोजेटिभ देखिएपछि सोही दिन न्युरोको कोभिड–१९ अस्पतालमा भर्ना भएका थिए । आईसीयूमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु भएको थियो । उनी मिर्गाैला सम्बन्धी समस्याबाट पनि पीडित थिए ।

यसैगरी नोबेल मेडिकल कलेजमा उपचाररत मोरङको ग्रामथान गाउँपालिकाका पुरुषको सोमबार बिहान र विराटनगर–३ का ६६ वर्षीय पुरुषको आइतबार राति ११ बजे मृत्यु भएको छ । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार ग्रामथानका पुरुषमा असोज २९ गते र विराटनगर–३ का पुरुषमा असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि बिराटनगरका पुरुष होम आइसोलेसनमा थिए । श्वासप्रश्वासमा समस्या भएप िथप उपचारका लागि आइतबार नोबेलको आइसोलेसनमा भर्ना गरिएको थियो ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत बिराटनगर–२ की ६० वर्षीया महिलाको पनि सोमबार बिहान ४ बजेतिर मृत्यु भएको छ । ती महिलामा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उता सुनसरीमा कोरानोबाट ४ जनाको मृत्यु भएको छ । धरानमा सोमबार तीन जना र बराहक्षेत्रमा एक जनाको मृत्यु भएको हो ।

बराहक्षेत्र नगरपालिका ११ की उमेर नखुलेकी एक महिलाको पनि होम आइसोलेसनमै मृत्यु भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताउनुभयो । यस्तै धरान ८ का पुरुष र धरान १५ का पुरुषको घरमै मृत्यु भएको छ भने इहटरी २० का पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा मृत्यु भएको हो ।

बिहान करिब २ बजेतिर धरान ८ एघारघरे बस्ने ७० वर्षीय वृद्धको घरमै निधन भएको हो । उनी मृगौलाका विरामी थिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलाइसिस गराइरहेका उनलाई परिवारले आइतबार घर ल्याएको थियो ।

यसैगरि, धरान १५, बुढासुब्बा चोक नजिकै पनि ७४ बर्षका वृद्धको बिहान ६ बजेतिर निधन भएको वडा नं १५ का अध्यक्ष नरेश इवारमले जानकारी दिनुभयो । शनिबार पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उनी होम आइसोलेसनमा बसेका थिए । उनको मुटुको वाइपास सर्जरी गरेको थियो ।

यस्तै सुनसरीकै इटहरी २० का ७८ वर्षीय पुरुषको बिहान ३ बजेर ५ मिनेटमा बीपी कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार असोज १९ गते प्रतिष्ठान भर्ना गरिएका उनमा कार्तिक १ गते संक्रमण पुष्टि भएको थियो ।

सोमबार, ०३ कार्तिक, २०७७, साँझको ०७:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर