विराटनगर । विराटनगर महानगरपालिका अन्तर्गत पानीट्याङ्की–पुष्पलाल चौकसम्मको नमुना सडकखण्डमा जडान गरिएका सोलार बत्तीहरु प्रयोगविहीन हुँदै गएका छन् ।

सो सडकखण्डमा जडान गरिएका ९७ वटा सोलार बत्तीमध्ये अधिकांश बिगे्रर प्रयोगविहीन हुँदै गएका हुन् ।

सडकमा जडान गरिएकामध्ये करिब दुई चौथाई सोलार बत्ती बल्न छाडेको स्थानीयले बताएका छन् । महानगरले पनि बत्तीको मर्मतमा खासै चासो नदिँदा पछिल्लो समय उक्त सडकखण्डमा दुर्घटनाको ग्राफसमेत उकालो लागेको स्थानीय नविन भट्टराईले बताउनुभयो ।

विराटनगर महानगरपालिकाले सो सडकखण्डमा सोलार जडानका लागि प्रतिसोलार बत्ती १ लाख ९० हजार ९ सय ७० रुपैयाँ खर्च गरेको छ । उक्त सडकखण्डमा १ करोड ८५ लाख २४ हजार ९० रुपैयाँको लागतमा कुल ९७ वटा सोलार बत्तीहरु जडान गरिएको महानगरका विद्युत शाखा प्रमुख अनिल सिंहको भनाइ छ ।

विराटनगरको नमुना सडकखण्डका बत्तीहरुको मर्मतमा महानगरको ध्यान नजानु दुःखद् भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेलले बताउनुभयो । उहाँले विद्युत शाखाको टिमसँग छलफल गरेर यथाशीघ्र बिग्रेका बत्तीहरुको मर्मत गराउने आश्वासनसमेत दिनुभयो ।

सडकबत्ती नबल्नु त प्रतिनिधिमुलक संरचना मात्र हो । यसबाहेक पनि महानगरमा हालसम्म निर्माण भएका अधिकांश संरचनाहरु महानगरको संरक्षण क्षेत्रमा पर्न नसक्दा प्रयोगविहीन हुँदै गएका छन् । तसर्थ महानगरले नयाँ–नयाँ संरचना निर्माण गर्दै गरिरहँदा त्यसको महत्व जोगाईराख्न त्यसको संरक्षणमा पनि ध्यान पु¥याउनु अत्यन्तै आवश्यक देखिन्छ ।