विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको प्रदेश १ को राजधानी विराटनगरमा संक्रमितको संख्या ह्वातै बढेको छ । पछिल्लो समय विराटनगरमा दैनिक डेढ सय हाराहारी संक्रमित भेटिन थालेको छ ।
विराटनगरमा शनिबार १ सय ४५ जना संक्रमित थपिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यद्यपी विराटनगर महानगरपालिकाले भने १२२ जना मात्र थपिएको जानकारी दिएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या ३ हजार ३४३ पुगेको विराटनगर महानगरपालिकाले जनाएको छ । विराटनगर महानगरपालिकाले भने संक्रमितको संख्या ३ हजार ३२० पुगेको जनाएको छ ।
महानगरपालिकाभित्र सबैभन्दा धेरै ३ नम्बर वडामा संक्रमित भेटिएको महानगरको तथ्यांक छ । सो वडामा शनिबारसम्म २९६ संक्रमित भेटिएको विराटनगर महानगरपालिका स्वास्थ्य निरीक्षक राजेन्द्र कुईकेलले जानकारी दिनुभयो । यस्तै विराटनगर १ मा २२२ जना, २ मा २१३ जना, ४ मा २६९ जना, ५ मा २७८ जना, ६ मा १९९ जना, ७ मा १७८ जना, ८ मा २६० जना, ९ मा १३६ जना र १० मा १५६ जना संक्रमित फेला परेका छन् । विराटनगर ११ मा २६२ जना, १२ मा २७१ जना, १३ मा ७६ जना, १४ मा ६६ जना, १५ मा १५५ जना, १६ मा ५२ जना, १७ मा ३१ जना, १८ मा ७ जना र १९ मा ३७ जना संक्रमित पुगेको विराटनगर महानगरपालिकाले जनाएको छ ।
संक्रमितमध्ये १२८ जनाको वडा नखुलेको र २९ जना विराटनगर महानगरपालिका बाहिरका रहेको महानगरपालिकाले जनाएको छ । अहिलेसम्म २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
शुक्रबारसम्म विराटनगर महानगरपालिकाभित्र १२ हजार ३ सय ६८ जनाको स्वाब संकलन गरि परीक्षण गरिएको छ ।

