इटहरी । कोरोना संक्रमणको दर बढ्दै गइरहेबोला सुनसरीको डिसिसिएमसी बैठकले राति ८ बजेपछि बजार बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार असोज २५ गतेदेखि साँझ ८ बजेपछि सम्पूर्ण बजार, पसल तथा व्यवसाय पूर्णरुपमा बन्द गरिने भएको हो ।
बैठकले खुला स्थानमा सञ्चालन हुने साप्ताहिक, दैनिक हाटबजार अनिवार्य स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ । बजार तथा पसलहरुमा न्युनतम २ मिटर दुरी रहने गरि मात्र ग्राहकलाई प्रवेश गर्न दिने, पसल बाहिर सेनिटाइजर वा हात धुने व्यवस्था गर्ने र त्यसो नगरे कानून वमोजिम कारबाही गर्ने पनि निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जानकारी दिनुभयो ।
लामो र छोटो दुरीका तथा स्थानीयस्तरमा सञ्चालन हुने यातायातका साधनले पनि अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निर्णय गरिएको छ । बैठकले शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिकाको परिधिभित्र रहेर स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरि डिस्टेन्स लर्निङ जस्ता कक्षा सञ्चालन गर्न दिने पनि निर्णय गरेको छ । यो निर्णय अनुसार निजी तथा संस्थागत विद्यालयहरुले कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई बढीमा १५ जनासम्मको समुह बनाएर सिफ्ट मिलाएर पढाउन सक्छन् ।
सहायक प्रजिअ पोख्रेलका अनुसार यो निर्णय ठुला कक्षाको लागि मात्र हो । ती कक्षाहरु स्कूलहरुले स्वास्थ्य मापदण्ड पालना गरेर शुरु गर्न सक्छन् । तर, साना कक्षाहरु भने त्यसरी सञ्चालन गर्न पनि पाइने छैन ।
डिसिसिएमसि बैठकले नजिकिदै गरेको दशैं, तिहार, छठलगायत चाडपर्व आ–आफ्नो घरभित्र परिवारसँग मात्र मनाउन आग्रह गरेको छ । मेला, जात्रा, भजन, किर्तन नगर्न तथा बिना काम घरबाट बाहिर ननिस्कन र समुहमा हिड्दा सामाजिक दुरी कायम गर्न पनि आग्रह गरेको छ ।
यसैगरि, मन्दिर, मञ्जिद तथा गुम्बाहरुमा नित्य पुजाआजा भिडभाड नहुने गरि एक जनाले मात्र गर्ने पनि निर्णय गरेको छ।

