विराटनगर । कोरोना रोकथाम गर्न नेपाल–भारतको सीमा क्षेत्र सिल गरिएको अवस्थामा पछिल्लो दिनमा सुरक्षा सतर्कता कमजोर हुँदा सर्वसाधारण भारतीय बजार जोगबनी जाने क्रम बढेको छ ।
चाडवाड लागेसँगै भारतीय बजारमा किनमेल गरेर फर्कनेहरुलाई नियन्त्रणमा लिएर १४ दिन क्वारेन्टाइनमा राख्ने प्रशासनले चेतावनी दिएपनि कार्यान्वयन नहुँदा हुलका हुल नेपालीहरु जोगवनी गएर किनमेल गरि पर्कने गरेको पाइएको छ ।
गत चैतमा सरकारले लकडाउन घोषणा गरेसँगै नेपाल–भारत सीमा सिल गरिएको छ । सरकारले तोकेका नाकाबाट अनुमति लिएर मात्र नेपाल–भारत ओहोरदोहर गर्न पाउने प्राबधान छ । तर, पछिल्लो दिनमा सुरक्षाकर्मीले कडाइ नगरेको कारण भारतीय बजारमा किनमेल गर्न जाने क्रम बढेको हो ।
कोरोना महामारीको कारण सीमा नाका सिल गरिएको कारण सस्तोको लोभमा जोगवनी उपभोक्ता ठगिने अवस्था बन्द भएको थियो । अर्कोतिर उपभोक्ताहरु नेपाली बजारमै केन्द्रित हुँदा विराटनगरका व्यापार फस्टाउनुको साथै त्यसले राजश्वमा पनि सकारात्मक योगदान गर्ने विश्वास गरिएको छ । तर, अहिले नाकाको मुख्य नाकाबाट ओहोरदोहोर गर्न कडाई भएपनि आसपासको क्षेत्रबाट दैनिक सयौं जना तस्करीको सामानसहित भारत–नेपाल गरिरहेका छन् ।
सिल गरिएको बोर्डरबाट सामान ओसारपसार गर्नेमा उपभोक्तादेखि तस्करको समूहसमेत छ । पछिल्लो समयमा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमतोमा सीमाबाट तस्करीको लाइन सञ्चालन भएको तथ्य बाहिर आइरहेको बेला जोगवनी बजार किनमेल गर्न जाने क्रम पनि बढेको हो । प्रहरीले तस्करसँगको मिलेमतोमा बोर्डरमा ध्यान कम दिन थालेपछि उपभोक्ता पनि जोगवनी जानजे क्रम बढेको सीमा क्षेत्रका बासिन्दाहरुले बताएका छन् ।
प्रशासनले भारत गएर आउनेलाई नियन्त्रणमा लिएर १४ दिन क्वारेन्टिनमा राख्ने उर्दी जारी गरेपछि केही दिन उपभोक्ताहरु जोगवनी जाने क्रम रोकिएको थियो । तर, अहिले त्यो क्रम बढेको छ । दैनिक भारतीय बजारमा किनमेल गर्न जानेहरु केही घरयायी उपभोगका लागि जाने भएपनि धेरै सामान ओसारपसार गर्ने ‘पोके’हरु छन् । कतिपय भने ब्यापारी र तस्करका भरिया रहेको पाइएको छ ।
सीमा क्षेत्रमा तस्करी नियन्त्रण र आवतजावतमा कडाई गर्ने मुख्य जिम्मा सशस्त्र प्रहरीको हो । कोरोना महामारीसँगै सीमा क्षेत्रमा प्रहरीको जनशक्ति पनि थप भएको छ । तर, यसले पनि तस्करी र अबैध कारोबार नरोकिएको सीमा क्षेत्रमा पुगेर हेर्दा देख्न सकिन्छ । जहदा र धनपालथान क्षेत्रबाट दिनदहाडै ट्याक्टरमै तस्करी बढिरहेको बेला रानी भन्सार नजिकैको क्षेत्रबाट सामान ओसारपसार फस्टाएको हो ।
फोहोरको डंगुर र कम्मरसम्मको दह वेवास्ता गर्दै भारतीय बजारमा किनमेल गर्न जाने र फर्कने गरेका छन् । आजकल पश्चिमतर्फ विराटनगर जुटमिलको दक्षिण गेट र दरैयाबस्ती तथा पूर्वतर्फ इस्लामपुरको खुल्ला सिमानाबाट मानिसहरु हुलका हुल जोगबनी बजार जाने गरेका छन् ।
भारतीय बजारमा किनमेल गर्न जानेहरुले कसैले पनि मास्क प्रयोग गर्दैनन् । किनमेल गर्न जानेहरु धेरैजसो महिलाहरु हुने गरेका छन् । बोर्डर शील भएपनि किनमेल गर्न जाने आउनेहरुलाई सुरक्षाकर्मीहरुले कुनै अवरोध गर्ने गरेका छैनन् । भारतीय बजारका व्यापारीहरुले पनि कोरोना संक्रमणको कुनै जोखिम नभएको भन्दै ढुक्कले किनमेल गर्न आउन हल्ला फैलाइरहेको पाइएको छ ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाले लाठीले हर्काएकै भरमा मात्र भारतीय बजारमा किनेमल गर्न जानेहरुलाई नियन्त्रण गर्न संभव नभएको बताउनुभयो । हुलका हुल मानिसहरु भारतीय बजार गइरहेको भन्दै उहाँले प्रहरीले पनि नियन्त्रण गर्न नसकेको लाचार प्रकट गर्नुभएको छ ।
सिल भएको बोर्डरबाट आउनेजाने जोकोहीलाई ठेगाना पृष्टि गराई आवश्यक चेकजाँच गरेर मात्र आफ्नो देशतर्फ आउने दिनुपर्छ । अझ महामारीको बेला चोरबाटो हुँदै आएकाहरु जोकोहीलाई अनिवार्य क्वारेन्टाइनमा १४ दिन राख्नुपर्छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले क्वारेन्टाइनमा राख्ने चेतानवी दिएपछि किनमेल गर्न जानेहरु केही दिन नियन्त्रण भएपनि पुनः हुरुरु जान थालेको सूचना आएपछि सुरक्षा निकायसँग सल्लाह गरेर थप कडाई गर्ने बताउनुभयो ।
दिनभरी पोके र उपभोक्ता, रातभरी ठूलो तस्करी
चाडवाड नजिकिएसँगै मोरङ र सुनससीमा बोर्डर सिलबन्दी भएपनि ठूलो तस्करी गर्नेहरु सक्रिय छन् । हाल सुनसरीको साहेबगन्ज, धुस्की र भण्टाबारी अनि मोरङको नोचा, बुधनगर, तारेगामा, सिक्टी, बरडंगा, रंगेली नाकाबाट निर्वाध तस्करी भइरहेको छ । नोपालबाट मरिच, मटर, मिक्सर दाललगायत बस्तु भारत लैजाने गरिएको छ भने उताबाट गहुँ, किराना सामान, कपडा, मोटरपार्टस्, भाँडावर्तन र इलेक्ट्रिक्स समानहरु भित्र्याउने गरिएको छ ।
रात परेपछि ओहोरदोहोर गर्ने ट्रयाक्टर र मोटरसाइकलको आवाजले राम्ररी निदाउन पनि नपाएको स्थानीय बताउँछन् । प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कबिन्द्रकुमार कार्की भने सीमाबाट फाटफुट रुपमा लुकिछिपी ओसारपसार भइरहेको सूचना रहेको दावी गर्नुहुन्छ । ठूलो परिमाणमा मरिच र मटर तस्करी भइरहेको विषय भने उहाँले अस्वीकार गर्नुभयो ।
नाकाको प्रहरी चौकी र सशस्त्र प्रहरीको विओपी (वोर्डर आउट पोष्ट) मा खटिने सुरक्षाकर्मीहरुले भने आफूहरुले चाहेर पनि अबैध ओसारपसार नियन्त्रण गर्न नसक्ने बताउने गरेका छन् । माथिकै आदेश र मिलेमतोमा तस्करी हुने गरेको उनीहरुको भनाइ छ । अबैध ओसारपासर गर्नेहरुले सिमा क्षेत्रका घरघरमा तराजु राखेर काँटा र गोदाम नै सञ्चालन गर्ने गरेका छन ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ११ चैत २०७६ देखि असार मसान्तसम्म प्रदेश १ भरिबाट ४ करोड ३० लाख ९८ हजार मूल्य बरावरको भन्सार छलीका मालबस्तु प्रहरीले बरामद गरेको छ ।

