धरान । पछिल्लो दिनमा कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएको भन्दै धरान उपमहानगरपालिका र वडा कार्यालयहरू बिहीबारबाट असोज २८ गतेसम्मको लागि बन्द गरिएको छ ।
कोरोना सङ्क्रमण तीव्र गतिमा बढिरहेको भन्दै बुधबार धरान उपमहानगरपालिकामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकको निर्णय अनुसार एक साताको लागि कार्यालयको सेवा अत्यावश्यक बाहेक बन्द गरिएको नगरप्रमुख तिलक राईले जानकारी दिनुभयो ।
बैठकमा कोरोना सङ्क्रमणलाई रोक्नका लागि लकडाउन गर्नुपर्ने कुरा उठेपनि लकडाउन नै समस्याको समाधान नभएको भन्दै कोरोना सङ्क्रमणबाट व्यक्ति आफै सजग र सचेत हुनुपर्ने निर्णय गरिएको थियो । लकडाउन अन्तिम विकल्प नभएको भन्दै कोरोना सङ्क्रमणको अवस्थालाई हेरेर बजारमा साँझ ५ बजे देखि बजारलाई अलि व्यवस्थित बनाउने नगरप्रमुख राईले बताउनुभयो ।
धरानमा कोरोना सङ्क्रमण बढेकोले अव वडा वडामा जातीय, सामाजिक संघसंस्थाहरुलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दे समाजलाई सुसूचित गर्न लगाउने पनि बैठकमा निर्णय भएको छ । चाडपर्वहरू नजिकिँदै गर्दा अव बजारलाई व्यवस्थित बनाउनुपर्ने तर्फ बैठकमा सहभागीहरूले कुरा उठाएका थिए ।
बैठकमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरू, सुनसरी उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरू, विभिन्न राजनीतिक दलहरूको प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

