लोड हुँदैछ...

मेनु

बुधनगरबाट मरिच र केराउको तस्करी

बुधनगरबाट मरिच र केराउको तस्करी

विराटनगर । नेपाल भारत सीमा क्षेत्रमा पछिल्लो समय अनौपचारिक कारोवार बढेसँगै विभिन्न नाकाहरुबाट हुने तस्करीजन्य क्रियाकलापका बारेमा थप सूचनाहरु प्राप्त हुन थालेका छन् ।

विगत धेरै लामो समयदेखि तस्करीजन्य क्रियाकलाप हुने गरेका नाकाबाहेक केही नयाँ मार्गबाट पनि पछिल्लो समय अबैध सामान ओसारपसार हुने गरेको पाइएको छ ।

विराटनगर रानीको मटेरुवा तस्करीका लागि पुरानो र चर्चित क्षेत्र हो । तर, अहिले त्यहाँबाट विगतको तुलनामा थोरै मात्र कारोवार हुने गरेको छ । अहिले विराटनगर भन्सारको एकीकृत जाँच चौकी नजिकको पर्ने बुधनगरको बस्ती क्षेत्र तस्करीका लागि प्रयोग हुन थालेको छ ।

आइसिपीको बाटो हुँदै भारतसम्म पुग्ने सानो बाटो प्रयोग गरेर २२ दिनअघि अर्थात अब्टोबर १५ देखि नियमितरुपमा सामान ओसारपसार हुन थालेको छ । उक्त क्षेत्रबाट दैनिक ठूलो परिमाणमा मरिच, सुपारी र केराउ भारततर्फ लैजाने गरिएको स्थानीयले बताएका छन् ।

भारतीय नागरिक बिट्टु पोद्दारले दुबैतर्फको सुरक्षा निकायसँग समन्वय गरेर तस्करी धन्दा सञ्चालन गरेको बताइएको छ । नेपाल–भारत सीमा सुरक्षाको जिम्मेवारी लिएको सशस्त्र प्रहरीले कडाई नगरेको तथा नेपाल प्रहरीले पनि बोर्डरमा परिचालन गरेका घुमुवा प्रहरीहरुलाई पुरानो मुद्दा फरार अभियुक्त खोज्ने जिम्मेवारी दिएपछि सीमा क्षेत्रमा तस्करीजन्य गतिविधि बढेको हो ।

केही दिनअघि विराटनगर भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीले खुला सिमानाका कारण अनौपचारिक कारोवार र चोरी तस्करी नियन्त्रण भन्सारका लागि मुख्य चुनौति बन्दै गएको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds