सबै तहका परीक्षा सञ्चालन गर्न सरकारको अनुमति

विराटनगर । कोरोना महामारीका कारण स्थगित भएको सबै तहका शैक्षिक संस्थाहरुको परीक्षा सञ्चालन गर्न सरकारले अनुमति दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी सबै मापदण्ड पूर्णरुपमा पालना गरी परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा गत असोज १९ मा बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गर्न सक्ने स्वीकृति दिएको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकरी दिनुभयो । यस्तै नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएका जनस्वास्थ्य एवं सुरक्षा सम्बन्धी मापदण्डहरुलाई पालना गरी व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको व्यावसायिक तालिम सञ्चालनको पनि अनुमति दिने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै लकडाउन जारी गरिएपछि एसईई, कक्षा ११ र १२ का परीक्षा रोकिएका थिए । एसईईको परीक्षा आन्तरिक मूल्यांकनमार्फत गरेर नतिजा प्रकाशन भए पनि अन्य परीक्षा भने हुन सकेका थिएनन् । यस्तै विश्वविद्यालयका तहका परीक्षाहरु पनि स्थगित भएका थिए ।

सरकारले शिक्षक सेवा आयोगमा रिक्त रहेका अध्यक्ष र एक महिलासहित दुईजना सदस्य पदमा नियुक्तिको सिफारिस गर्नका लागि लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा सिफारिस समिति पनि गठन गरेको छ । साथै राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्तीसम्बन्धि प्रक्रियालाई सुचारु गर्न पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । उक्त प्रक्रिया बैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले स्थगन गरेको थियो ।

बुधबार, २१ असोज, २०७७, दिउँसोको ०२:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर